मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ मा रहेको जनता माध्यामिक विद्यालयको ३७ औं अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रतिमान रुम्बाको सभाध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको प्रमुख अतिथ्यतामा भेला सम्पन्न भएको हो । अभिभावक भेलामा विद्यालयका प्रधानाध्यापक होम बहादुर नेपालीले विद्यालयको शैक्षिक, भौतिक, प्रशासनिक तथा आर्थिक प्रगति प्रतिवेदन पेश गरेका थिए । उनले विद्यालयमा २१ जना शिक्षक कर्मचारी रहेको जानकारी गराउदैं गाउँघरमा चाडपर्व, छ्यावार, संक्रान्ती, जन्मोउत्सव लगायत अन्य पर्वका दिन विद्यालयका आधा भन्दा बढी विद्यार्थी पढ्न लेख्न नआउने गरेकोले अभिभावक समक्ष बालबालिका विद्यालय पठाउन आग्रह गरे ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष विदुर हुमागाईले विद्यालयको भौतिक संरचना बलियो र सुसम्पन्न रहेको अवस्थामा अब शैक्षिक प्रणाली परिवर्तन गरी प्रविधि संग जोडिएर शैक्षिक सुधार गरिनुपर्ने बताए । सुकौरामा स्वास्थ्य र शिक्षाका लागि सहयोगीदाताहरुबाट निर्मित अत्याधुनिक भवन र सोही अनुसार सेवा प्रदान गरिने बताए । कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने दाताहरुलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो भने विभिन्न कक्षाका विद्यार्थी उत्कृष्ठ अंक ल्याउनेलाई पुरस्कृत गरिएको थियो । भेलामा वडा नम्बर ७ का वडा अध्यक्ष सुर्य बहादुर रुम्बा, गाउँपालिकाका शिक्षा शाखा प्रमुख राम कुमार घलान, सामाजिक विकास संयोजक तथा वडा ५ वडा अध्यक्ष जीत बहादुर घिमिरे, गाउँपालिकाका श्रोत शिक्षक इन्द्र बहादुर कार्की, विद्यालयका पूर्व अध्यक्ष बाबुलाल योन्जन, बीर बहादुर रुम्बा, समाजसेवी जय बहादुर घलान र गोकुल लम्साल,अर्थविद् तथा समाजसेवी सुदर्शन अधिकारी, वडा सदस्यहरु, विद्यालयका पूर्व व्यवस्थापनका पदाधिकारी, टोल विकासका पदाधिकारी, सहकारी, वनका प्रतिनिधि, अभिभावक, शिक्षक र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।