हेटौंडामा गुन्जिए आचार्य र रसिक

अनलाइन पत्र संवाददाता२०७६-०५-०८ No Comments

एकसय ५४ औं मोती जयन्तीका अवसरमा शनिबार हेटौंडामा आयोजित कार्यक्रममा हेटौंडेली कवि तथा गजलकार पुरुषोत्तम आचार्य र निजगढका गजलकार रमेश रसिकका गजल गुन्जिए । पुरुषोत्तम आचार्यको गजल गायन र रसिकका ओजनदार गजल सुनेर सहभागीले भरपूर आनन्द लिए । गजल मञ्च मकवानपुरले आफ्नो १५८ औं नियमित सन्ध्या तथा मोती जयन्तीको अवसरमा संयुक्त गजल बाचन कार्यक्रम राखेको हो ।

कार्यक्रममा गजलकारद्धयले सातरसात वटा गजल गायन तथा बाचन गरेका थिए । आचार्यले अधिकांश गजल गाएर सुनाएका थिए । उनले विशेष गरी क्रान्तिकारी चेत भएका गजलहरु गाएका थिए । उनको गजलले न्यून वर्गीय नागरिकलाई आफ्नो हक अधिकारको लागि लड्न आह्वान गरेका थिए । रसिकले पनि वर्तमान देशको राजनीतिक तथ सामाजिक विकृति, विसंगति, बेरोजगारी, गरिबीलगायतका समस्यालाई गजलमा उतारेका थिए । केही शृङ्गारिक गजलहरु पनि उनले पस्केका थिए । कार्यक्रममा नियमित गजल यात्रातर्फ ६ जना गजलकारले आफ्ना गजल प्रस्तुत गरेका थिए । गजलकार केशव खड्का, अविनाश थापा, विशाल तिमल्सिना, मनु रेग्मी आशा, सञ्जित श्रेष्ठ र उत्सव अर्यालले गजल बाचन गरेका थिए । गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा गीतकार गजलकार तुलसी घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा हास्यब्यङ्ग्यकार आरसी रिजाल, सर्जक सञ्जाल मकवानपुरका संयोजक एवम् साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिल, प्रगतिशील लेखक संघ मकवानपुरकी अध्यक्ष शान्तिप्रिय बन्दना, झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतम, मञ्चका उपाध्यक्ष सिएम रिमाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Chat Icon
Ad
Ad