पूर्वी मकवानपुरको बकैया गाउँपालिकालाई जिल्लाको दोस्रो ‘बालमैत्री’ घोषणा गरिने भएको छ । माघ २९ गते पालिकालाई बालमैत्री घोषणा गरिने भएको हो । गाउँपालिकामा शनिबार पत्रकार सम्मेलन गर्दै पालिकालाई बालमैत्री घोषणा गर्ने सम्पूर्ण तयारी पूरा भएको पालिका अध्यक्ष दामोदर खनालले बताएका हुन् । पालिकाकाले बालमैत्री स्थानीय शासनका ३९ सूचकमध्ये १९ वटामा सत्प्रतिशत र २० वटा सूचकमा ९८ प्रतिशत सफलता प्राप्त गरेको अध्यक्ष खनालले दाबी गरे ।

पालिकाले बालमैत्री स्थानीय तह घोषणा गर्न अघिल्लो वर्ष ५० लाख र यस वर्ष ८० लाख बजेट छुट्याएको पालिका उपाध्यक्ष सरला बोलखेले बताइन् । बकैया मकवानपुरको दोस्रो बालमैत्री स्थानीय तह घोषणा हुने भएको हो । यसअघि मकवानपुरको मनहरी गाउँपालिका बालमैत्री घोषणा भइसकेको छ । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले बकैया गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणा गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको थियो ।