आगामी मङ्सिर ६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘च च हुई’को गीत ‘सिल्की स्लिकी बाल’ सार्वजनिक भएको छ । ‘च च हुई’को पहिलो गीतमा आर्यन सिग्देल, मिरुना मगर र भोलाराज सापकोटा फिचर्ड छन् । राजनराज सिवाकोटी र मेलिना राईको स्वर रहेको गीतमा सिवाकोटीकै सङ्गीत रहेको छ भने सिवाकोटी र श्याम लामिछानेको शब्द छ । आर्यन सिग्देल र मिरुना मगरले पहिलो पटक स्क्रिन साझेदारी गरेको ‘च च हुई’को यस गीतमा उनीहरूको केमेस्ट्री निकै मिलेको छ । शिशिर खतिले कोरियोग्राफी भएको गीतलाई मुस्ताङका विभिन्न ठाउँमा खिचिएको छ ।
साम्तेन भुटियाको निर्देशनमा निर्माण भइरहेको चलचित्रमा माओत्से गुरुङ, पुष्कर गुरुङ, बबिता मल्ललगायत कलाकारको अभिनय रहेको छ । रोमान्टिक कमेडी जनरामा निर्माण हुने यस चलचित्रमा आर्यन रोमान्टिक र कमेडी दुवै भूमिकामा देखिने छन् । एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेको यस चलचित्रमा भोलाराज सापकोटा, पुष्कर गुरुङ, बबिता मल्ललगायतको पनि अभिनय रहेको छ । पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् भने सुशन प्रजापतिले खिचेका हुन् ।