गायिका कमला अधिकारीको स्वरमा समसामयिक सामाजिक यथार्थतामा आधारित नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘मुना’ बोलको यो गीत युट्युव च्यानल जोजस क्रियशन प्रा.लि.बाट शनिबार सार्वजनिक भएको हो। गीतमा कमला अधिकारीकै शब्द तथा लय रहेको छ। गणेश अधिकारी, पुष्पा न्यौपाने र अंशु खनालद्वारा अभिनित म्युजिक भिडियोमा स्वामीध्यान गगनको कथा तथा परिकल्पनालाई विष्णु भट्टराईले निर्देशन गरेका छन्।  

दुर्गम गाउँमा हुर्किएकी चेली, विदेशिन बाध्य उनका पिता र अभावै अभावको एक्लो जीवनमा खेप्नु परेको उनको आमाको पीडासहितको जीवन वृत्तान्तलाई म्युजिक भिडियो मार्फत रोचक ढङ्गले प्रस्तुत गरिएको छ। शिक्षण पेशामा आवद्ध कमला अधिकारी गायनसँगै लेखन कार्यमा पनि सक्रिय छन्। उनको यस गीतिकथामा आधारित पुस्तक मुना पनि छिट्टै बजारमा आउँदैछ।