2025-11-07 2:36 am

१६ वर्षीय किशोर झुण्डिएको अवस्थामा मृत फेला

दार्चुला जिल्ला सदरमुकाममा १६ वर्षीया किशोर झुण्डिएको अवस्थामा मृत फेला परेका भए पनि उनको शव करिब ११ घण्टापछि मात्रै पोष्टमार्टमका लागि उठाइएको छ। महाकाली नगरपालिका-४ खलंगास्थित एम स्टार रेस्टुरेन्ट एण्ड वियरवारमा बिहान साढे ९ बजेतिर छतको सरियामा झुण्डिएको अवस्थामा मृत फेला परेका मनोज कुवँरको शवलाई पोष्टमार्टमका लागि बेलुकी करिब सवा आठ बजे मात्रै लगिएको हो।

दुँहु गाउँपालिका-४ स्थायी ठेगाना भई महाकाली ४ खलंगामा मनोज आमा मिना चन्द कुवँरसँग बस्दै आएको र आमाले झपारेपछि भित्र गएका उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख सुरेन्द्र प्रसाद जोशीले बताए। मनोजका बुबा दलबहादुर कुवँर र मिना कुवँरको करिब १० वर्षअगाडि नै सम्बन्ध विच्छेद भएको र मनोज आमासँगै बस्दै आएको उनको परिवार स्रोतले जानकारी दिएको छ।

आमा मिनाले दलबहादुर कुवँरसँग सम्बन्ध विच्छेद गरी मंगलसिह धामीसँग विवाह गरेर बसेको र रेस्टुरेन्ट सञ्चालन गर्दै आएको प्रहरी स्रोतले जानकारी दिएको छ। मनोजका बुबा दलबहादुर कुवँरले आफ्नो छोरालाई झुण्डिएको अवस्थाबाट आफूलाई नसोधी प्रहरीले निकालेको र आफूलाई मनोजले आत्महत्या नगरेको हुन सक्ने बताएपछि पोष्टमार्टमका लागि लैजाने विषयमा विवाद भएको थियो।

About the Author

Ad
Ad