Comments Add Comment

४२ जिल्लामा एक हजार ५३७ डेंगीका बिरामी

स्वास्थ्य मन्त्रालयले देशका विभिन्न ४२ जिल्लामा अहिलेसम्म एक हजार ५३७ जना डेंगीका बिरामी फेला परेको जनाएको छ। पछिल्लो समय विश्वका आधा भन्दा बढी जनसंख्या डेंगी रोगको जोखिममा रहेको भन्दै मन्त्रालयले डेंगी अझै फैलन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सरकार एक्लैको प्रयासले डेंगी नियन्त्रण नहुने बताए। बिहीबार मन्त्रालयमा आयोजित डेंगी रोग नियन्त्रण तथा रोकथाम सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले डेंगी नियन्त्रणका लागि सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आव्हान गरे।

‘पछिल्लो समय डेंगीको संक्रमण नियन्त्रण भन्दा पनि विस्तार हुने क्रममा छ’ उनले भने ‘सरकार एक्लैको प्रयासमा मात्रै नियन्त्रण हुन सक्दैन।’

प्रत्येक वर्ष विश्वमा ३९ करोड मानिसमा डेंगु रोगको संक्रमण हुनुको साथै २० हजार भन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ। डेंगुको संक्रमण ३ देखि १० दिन सम्म रहने र यस समयमा विरामीलाई उच्च ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने , आँखाको गेडी दुख्ने, जीउ जोर्नी दुख्ने, शरीरमा रातो रातो फोकाहरु देखा पर्ने लक्षण देखा पर्दछ।

दशैंको समयमा डेंगुको संक्रमण अझै फैलन सक्ने भएकाले सतर्कता अपनाउनु पर्ने स्वास्थ सचिव डाक्टर पुष्पा चौधरीले बताइन्। उनले डेंगीको विशेष पहिचान गरी मृत्युदर घटाउनतर्फ केन्द्रित हुनपर्ने बताइन् । साथै तीन तहका सरकारका आ आफ्ना क्षेत्राधिकार रहेकाले यस सम्बन्धी जनचेतना अभिवृद्धिको आवश्यक रहेको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर