चितवन,भदौं ३ – पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका संचारकर्मी रवि लामिछानेसहित तीन जनालाई हिरासत मै राखेर अनुसन्धान गर्न पुनः पाँच दिनको म्याद थपिएको छ । जिल्ला अदालत चितवनका न्यायाधीश केशव अधिकारीको एकल इजालासले लामिछाने सहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमती दिएको हो ।
पाँच दिन हिरासतमा राखेर सोधपुछ गरेपछि प्रहरीले लामिछानेसहित तीन जनालाई दोस्रो पटक म्याद थपका लागि आज अदालतमा उपस्थित गराएको थियो । वादीको तर्फबाट जिल्ला न्यायधिवक्ता यदु शर्माले वहस गर्नुभएको थियो । प्रतिवादीका तर्फबाट अधिबक्ताहरु सुनिल पोखरेल, सुसिल पन्त र चुडामणी सापकोटाले बहस गर्नुभएको हो ।
आरोपी तीन जनालाई विहान १० बजे नै अदालत लगिएको थियो । लामिछानेसहित पत्रकार युवराज कँडेल र रुकु कार्की (अस्मिता) विरुद्ध शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहान मुद्दामा अनुसन्धान भइरहेको छ ।