Comments Add Comment

हेटौंडा सिमेन्ट पुनः सञ्चालनमा, ८ दिनमा ३८ करोड घाटा

हेटौंडा– भट्टीको फायर ब्रिक्स् खसेपछि आठ दिनअघि बन्द भएको सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा आएको छ । किल ब्रिक्स् लाइनिङको काम सकिएपछि बिहीबार बिहानबाट भट्टी तताउन सुरु गरिएको र विस्तारै उत्पादन सुरु भएको उद्योगका नायब महाप्रबन्धक कामेश्वर मण्डलले जानकारी दिए ।

‘हामीले आठ दिन लगाएर किल ब्रिक लाइनिङको काम सक्याएका छौं, अबको तीन दिनभित्र उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउँछ ।’ मण्डलले भने । भट्टीभित्र हुने तातोका कारण पर्खालको रुपमा लगाइएका नजल्ने प्रकृतिका फायर ब्रिक्स्हरु तीन–चार महिनामा खस्ने र सोही कारण उत्पादन नै बन्द गर्नुपर्ने अवस्था आउने गरेको नायब महाप्रबन्धक मण्डलले बताए । 
करिब २० लाखको लगानीमा फायर ब्रिक्स लाइनिङ गरिएको उद्योगले जनाएको छ । ‘एउटा ब्रिक्स्को तौल साढे १० किलोको हुने गर्दछ ।

उद्योगमा यसपटक दुई हजार ६ सय वटा ब्रिक्स लाइनिङ गरिएको मण्डलले बताए । एउटा ब्रिक्सकै मूल्य ७ सय रुपैयाँ पर्ने बताइएको छ । उद्योग बन्द हुँदा दैनिक करिब ४८ लाख रुपैयाँ बराबरको नोक्सानी हुने गरेको छ । दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको उद्योगले हाल दैनिक औसत ८ हजार बोरा मात्र सिमेन्ट उत्पादन गरिरहेको छ ।

३१ लाख बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको उद्योगले बितेको आर्थिक वर्षमा २० लाख बोरा मात्र सिमेन्ट उत्पादन गर्न सकेको उद्योगका प्रशासन महाशाखा प्रमुख गणेश कोइरालाले जानकारी दिए । आब २०७४/७५ को तुलनामा झण्डै आठ लाख बोरा सिमेन्ट उत्पादन घटेको उद्योगले जनाएको छ ।

उद्योगको मेसिनमा पटक पटक खराबी आएर उद्योग बन्द हुँदा उत्पादनमा पनि ह्रास आएको प्रशासन महाशाखा प्रमुख कोइरालाले बताए । ‘पुराना मेसिन छन्, कति बेला के हुन्छ थाहा हुन्न, गत वैशाखताका मुख्य मेसिन नै बिग्रिएर दुई महिना नै उत्पादन बन्द भयो । जसले गर्दा हामीले लक्ष्यअनुसारको उत्पादन गर्न सकिरहेका छैनौं ।’ कोइरालाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर