उपत्यका नगरपालिका फोरमले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा पुनः निषेधाज्ञा लागू गर्न सुझाव दिएको छ । फोरमका पदाधिकारीहरुले बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० का पदाधिकारीलाई भेटेर तिहार र छठ पछि काठमाडौं उपत्यकामा यसअघिको भन्दा कडा निषेधाज्ञा लागू गर्न सुझाव दिएका हुन् । उपत्यकामा कोरोना दिनप्रतिदिन बढिरहेको अवस्थामा कडा निषेधाज्ञाको विकल्प नभएको फोरमको भनाइ छ ।

फोरमका सचिव तथा मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले उपत्यकामा बढ्दो संक्रमणलाई नियन्त्रण गर्न निषेधाज्ञाको विकल्प नभएको बताए । तिहार छठलगत्तै उपत्यकामा बढिरहेको संक्रमण दर नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने भन्ने विषयमा गम्भिर छलफल भएको उनले बताए । महामारी नियन्त्रणका लागि स्थानीय तह र संघीय सरकारबीच समन्वन हुन नसक्दा समस्या झन बल्झिने खतरा रहेकाले नियन्त्रणका लागि एकीकृत रुपमा पहल गरेर अगाडी बढ्ने विषयमा पनि छलफल भएको उनले बताए ।