अर्थ मन्त्रालयले बीमा समितिबाट जारी भएका कोरोना बीमा लेख बमोजिमको दाबी गरेका बिमितहरुको बीमांक रकम एक हप्ताभित्र भुक्तानी गर्न निर्देशन दिएको छ । कोरोना बीमा दाबी गरेका बिमितहरुको पीसीआर परीक्षण प्रतिवेदन पोजिटिभ प्रमाण भएपछि बीमालेख अनुसार दिनुपर्ने रकम सबै बिमितहरुलाई सम्बन्धित बीमा कम्पनीले एक हप्ताभित्र भुक्तानी दिन मन्त्रालयले निर्देशन दिएको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रालयमा बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाई‌ं, बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डे लगायतसँग छलफल गरी एक हप्ताभित्र भुक्तानी दिने व्यवस्थालाई कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । सो कार्यको समन्वय र अनुगमन बीमा समितिले गरी दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय पनि भएको छ।

यस्तै कोरोना बीमाको दावी भुक्तानी कार्यमा सेवाग्राहीबाट आएका गुनासाको सुनुवाई गरी समस्या समाधानका लागि सम्बन्धित बीमा कम्पनीलाई निर्देशन दिन हटलाइन टेलिफोन सहितको हेल्प डेक्स सञ्‍चालन गर्ने व्यवस्था बीमा समितिले तत्काल मिलाउने निर्णय पनि भएको छ। बिमक संघका अध्यक्ष दिपप्रकाश पाण्डेका अनुसार आवेदनका साथ पूर्ण रुपमा कागजात पत्र नपुगेका कारण धेरैलाई दावी भुक्तानी हुन नसकेको जानकारी दिए । हाल संक्रमित भएका करिब १४ हजारले बीमा रकमका लागि दावी गरेका छन्। तर तीमध्ये २ हजार ३ सयको मात्रै पूर्ण रुपमा प्रक्रिया पुगेको पाण्डेले बताए।