हेटौडा – प्रलेस मकवानपुरले आयोजना गर्दै आएको पाँच कविका पन्ध्र कविताको तेस्रो शृङ्खलाका रुपमा शुक्रबार फरक–फरक प्रदेशका पाँच कविहरूलाई प्रस्तुत गरिएको छ ।
अनलाइन माध्यमबाट भएको उक्त कार्यक्रममा मकवानपुरबाट कवि सुवास खनाललाई प्रस्तुत गरिएको थियो । खनालको पछिल्लो समय दोस्रो कविता कृतिको रुपमा ‘सपनाका अवयव’ बजारमा आउँदैछ । खनालले ‘सहरले ढुङ्गा खान्छ’, ‘लालबहादुरको किड्नी बिक्रीमा’ छ र ‘डाक्टर केसीको दिमाग ठीक छैन’ लगायत कवितामार्फत सामाजिक विद्रोहको आवाज प्रस्तुत गरेका थिए । अर्का कवि सुनसरीबाट लता कार्कीका तीन कविता प्रस्तुत गरिएको थियो । उनले नारी चेत र आजको चेतनशील समयमा समेत नारीहरू विभेदीकरणको सिकार हुनुपरेका पक्षलाई कवितामा समेटेकी थिइन् । सुर्खेतबाट कविता वाचनमा प्रस्तुत भएका बलभद्र भारतीले २०४६ अघिका सामाजिक परिस्थिति र जर्जर अवस्थालाई कवितामा बुनेका थिए र आजको समय पनि त्यसभन्दा अघि जान नसकेको सङ्केत गरेका थिए । दाङबाट कविता वाचनमा उपस्थित भएका केशव थापाले तल्लो वर्गमा परेका र गिट्टी कुटेर खाने मजदुरका कथाहरू कवितामा खिपेका थिए । पछिल्लो समय पद्य कविता लेखन र प्रवर्धनमा क्रियाशील कविराज पौडेल रुपन्देहीबाट कविता वाचनमा सामेल भएका थिए । उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छन्द कविताको अभियानमा संलग्न छन् र पद्य कवितामा सामाजिक र वैचारिक पक्षहरू समावेश गर्दछन् ।
माक्र्सवादी सौन्दर्य चिन्तक तथा प्रगतिवादी कवि डा. अमर गिरीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा वाचित कविताहरूमाथि समीक्षात्मक टिप्पणी कवि तथा समालोचक विन्दु शर्माले गरेकी थिइन् । प्रलेस मकवानपुरका सचिव विशाल अधिकारीको सहजीकरणमा सञ्चालन भएको उक्त कार्यक्रमको अध्यक्षता प्रलेस मकवानपुरकी अध्यक्ष शान्ति प्रियवन्दनाले गरेकी थिइन् /