साउन २१, २०७६ चितवन : चितवनमा मोटरसाइकल चोरी गर्ने गिरोहको बिगबिगी रहेको पाइएको छ। मोटरसाइकल चोरीमा संलग्नलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेपछि गिरोहको बिगबिगी खुलेको हो। प्रहरीले चोरीलाई नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरेपछि संलग्नहरु पक्राउ पर्न थालेका हुन्। कतिपय अवस्थामा मोटरसाइकल चोरीमा संलग्नहरु प्रहरीकै अगाडिबाट सजिलै भाग्ने गरेको समेत पाइएको छ। यसरी भाग्छन् मोटरसाइकल चोर केही दिनअघि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चेकजाँचका क्रममा चोरीका दुई वटा मोटरसाईकल फेला पारे। तर, चोर पक्राउ पर्न सकेन। उनीहरु प्रहरीकै अघिबाट भाग्न सफल भए।

चितवन र नवलपुरको गैडाकोटबाट हराएको मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइएको चितवन ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीले बताए।  ट्राफिक चेकजाँचका क्रममा बिलबुकलगायत कागजपत्र नभएको मोटरसाइकल नियन्त्रणमा लिएर चालकलाई आवश्यक कागजपत्र लिएर आउन भनी छाडिन्छ। यस्तो अवस्थामा चोरीमा संलग्न व्यक्ति मोटरसाइकल छाडेर जाने तर नआउने गरेको पाइएको छ। ‘यसअघि कागजपत्र लिएर आउनु भनी छाड्ने गर्दा चोरलाई भाग्न सजिलो भएको पाइयो,’ प्रहरी निरीक्षक गिरीले भनmे, ‘अब ती व्यक्तिको पूरा जानकारी लिएर मात्रै छाड्छौँ, ता कि पछि सम्पर्कमा नआए पनि पक्राउ गर्न सहज होस्।’  जिल्ला प्रहरी कार्यालय चितवनले मोटरसाइकल चोरीको आरोपमा पछिल्लोपटक बाराको पपरा भवानीपुर घर भई चितवनको भरतपुर महानगरपालिका–१२ मा बसोबास गर्दै आएका मुन्नाप्रसाद सिंह, भरतपुर महानगरपालिका–२ का नवीन तामाङ र तनहुँ छिमकेश्वरी नगरपालिका–७ का यमबहादु क्षेत्रीलाई पक्राउ गरेको छ। उनीहरुले भरतपुर–४ का अनिलराज भण्डारीको घरमा पार्किङ गरी राखिएको २२० सिसीको पल्सर मोटरसाइकल साउन १४ राति चोरी गरेका थिए मोटरसाइकलको नम्बर प्लेट परिवर्तत गरी पार्टपूर्जा खोलेको अवस्थामा वडा नम्बर १२ बाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।