६ महिनासम्म सरकारले कुनै विकल्प नदिएको भन्दै यातायात व्यवसायीले सबै सार्वजनिक यातायात चलाउने घोषणा गरेका छन् । यसबारे औपचारिक निर्णय बिहीबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमार्फत गरिने महासंघका वरिष्ठ उपाध्यक्ष दीपक अधिकारीले जानकारी दिए । बुधबार यातायात व्यवस्था विभागमा भएको छलफलमा महासंघसहित यातायातसँग सम्बद्ध मजदुर संगठनको संयुक्त बैठकले सरकारलाई सार्वजनिक सवारी साधन सञ्चालन गर्न लागिएकोबारे जानकारी दिएको अधिकारीले बताए ।

६ महिनासम्म सार्वजनिक सवारीसाधन ग्यारेज र बसपार्कमा थन्किदा पनि सरकारले विकल्प दिएन, अब थेग्ने अवस्था रहेन हामी बिहीबार यसबारे सरकारलाई लिखित जानकारी गराउँछौँ, असोज १ देखि हाम्रा गाडी सडकमा निस्कन्छन्,’ अधिकारीले खबरहबसँग भने । कोरोनाविरुद्ध सम्पूर्ण सुरक्षाका उपाय अपनाएर सार्वजनिक सवारीसाधन संचालन गर्ने भन्दा पनि सरकारले निर्णय नदिएकोमा व्यवसायीको आपत्ति छ । यसअतिरिक्त रूट परमिट, नविकरण शुल्क र बीमाबारेसमेत सरकारले निर्णय नदिदा व्यवसायी मर्कामा परेको अधिकारीले बताए ।