2025-11-10 5:16 pm

प्रतिपक्षीको अवरोधपछि संसद बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदले सर्लाही घटनाका सम्बन्धमा संसदीय छानविन समितिको माग गर्दै नाराबाजी र अवरोध गरेपछि सोमबारको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको अर्को बैठक बुधबार ११ बजे बस्नेगरी स्थगित भएको घोषणा गरेका हुन् ।

प्रतिपक्ष दलका सांसदहरुले रोस्ट्रम घेरेर नाराबाजी गर्दै संसद अवरुद्ध गरेका थिए । सांसदहरूले ‘संसदीय छानबिन समिति गठन गर’, ‘मानवअधिकार हनन गर्न पाईदैन,’‘संसदीय सर्वोच्चता कायम गर’, ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर’ लगातका नारावाजी गर्दै रोस्ट्रम घेरेका थिए । लगातार ४० मिनेटसम्म नाराबाजी गर्दै प्रतिपक्षी दलका सांसदहरूले संसद अवरोध गरेपछि सभामुखले बैठक स्थगित भएको घोषणा गरेका हुन्।

प्रतिपक्षी दलका सांसद रोस्ट्रम घेरी नाराबाजी गरिरहँदा सभामुख महराले भने अवरोध हटाई छलफलको वातावरण बनाउन आग्रह गरिरहेका थिए । उनले संसद अवरोध भएपछि छलफल नहुने र छलफल नभएपछि संसदीय सर्वोच्चता कायम नहुने बताएका थिए । 
गत असार ५ गते विप्लव माओवादीका सर्लाही इन्चार्ज कुमार पौडेल मारिएका थिए । प्रहरीले पौडेल दोहोरो भिडन्तका क्रममा मारिएको बताएको छ भने स्थानीयले प्रहरीले पक्राउ गरेपछि हत्या गरेको आरोप लगाएका छन् । यस्तै, असार १५ गते प्रहरीकै गोलीबाट स्थानीय सरोज नारायण सिंहको मृत्यु भएको थियो । कांग्रेस र राजपाले यी दुवै घटनाको छानविन गर्न संसदीय समिति गठन हुनु पर्ने माग राख्दै आएका छन् ।

About the Author

Ad
Ad