Comments Add Comment

प्रतिनिधिसभा बैठकमा कांग्रेस-राजपाको अवरोध

काठमाडौं : आफ्ना दुई मुख्य सरकारले माग पूरा नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले आज (सोमबार) पनि संघीय संसदको प्रतिनिधिसभा बैठकमा अवरोध गरेका छन्।  दुई दलका सांसदहरुले कार्यगत एकता गर्दै दिउँसो  १ बजेपछि नयाँबानेश्वरमा बसेको प्रतिनिधि सभा बैठकमा अवरोध गरेका हुन्।

सभामुख कृष्णबहादुर महराले बैठक सुरु गरेलगत्तै दुवै दलका सांसदहरु उठेर नाराबाजी गर्दै संसदमा अवरोध गरेका हुन्। उनीहरुले संसदीय सर्वोच्चता कायम गर्नु पर्ने मागसहित नाराबाजी गरेका छन्।  दुई दलका सांसदहरुले अवरोध गरेपछि सभामुख महराले संसदीय सर्वोच्चता कायम गर्नका लागि बैठक चल्न दिन आग्रह गरे। उनले संसदीय प्रक्रिया अघि बढाउन सके मात्रै संसदीय सर्वोच्चता कायम हुने बताए । तर प्रतिपक्षी सांसदहरुले नाराबाजी गरिरहेपछि संसद बैठक अघि बढ्न सकेको छैन। यसअघि सिंहदरबारमा बसेको दुई दलको बैठकले संसद चल्न नदिने निर्णय गरेका थियो।

बैठकपछि बाहिरिने क्रममा राजपाका नेता लक्ष्मणलाल कर्णले सर्लाहीमा भएका दुई हत्याकाण्ड छानबिनका लागि संसदीय गठन र लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेसम्म बैठक चल्न नदिने बताएका थिए।  ‘हाम्रो माग यथावत छ। सरकारले सम्बोधन गरेमात्रै सभा खुल्छ नत्र खुल्दैन’, कर्णले भने, ‘सरकारले मधेस आन्दोलनबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न अटेर गरिरहेको छ। छानबिन समिति पनि बनाएको छैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर