युरोपा लिगको उपाधि सेभिल्लाले हात पार्‍यो

अनलाइन पत्र संवाददाता२०७७-०५-०६ No Comments

इटालियन क्लब इन्टर मिलानलाई पराजित गर्दै स्पेनिस क्लब सेभिल्लाले युरोपा लिग फुटबलको उपाधि जितेको छ । जर्मनीमा शुक्रबार राति भएको फाइनल खेलमा इन्टर मिलानलाई ३–२ गोल अन्तरले पराजित गर्दै सेभिल्लाले उपाधि हात पारेको हो । सेभिल्लाको जितमा लुक डी योङले दुई गोल तथा डिएगो कार्लोसले एक गोल गरे । इन्टरका रोमेरो लुकाकु र डिएगो गोडीनले १–१ गोल गरे पनि जितका लागि पर्याप्त भएन । कोलोग्ने स्टेडियममा खेलको पाँचौं मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई १–० को अग्रता दिलाए पनि त्यो ६ मिनेटभन्दा बढी टिक्न सकेन ।

१२औं मिनेटमा योङले गोल गर्दै सेभिल्लालाई १–१ गोलको बराबरीमा ल्याए । जिसस नाभासको क्रसमा योङले हेड गोल गरेका थिए । ३३औं मिनेटमा योङले व्यक्तिगत दोस्रो गोल गर्दै सेभियालाई २–१ को अग्रता दिलाए । ३६औं मिनेटमा इन्टरका गोडीनले गोल गर्दै खेल खेल २–२ गोलको बराबरीमा पुर्‍याए । खेलको ७४औं मिनेटमा कार्लोसले गोल गर्दै सेभिल्लालाई ३–२ को जित दिलाए । कार्लोसको एक्रोब्याटिक प्रहार इन्टरका लुकाकुलाई लाग्दै गोलमा परिणत भएको थियो ।
यससँगै सेभिल्लाले छैटौं पटक युरोपा लिगको उपाधि जित्न सफल भएको छ । सेभिया ६ पटक युरोपा लिग जित्ने एक्लो टिम हो । पछिल्लो पटक सेभिल्लाले २०१६ मा युरोपा लिग जितेको थियो ।

Ad
Ad