आज हरितालिका तीज । हरेक वर्ष देशरभरका शिवालयहरुमा व्रतालु महिलाहरुको भीडभाड हुने तीज यो वर्ष भने सुनसान देखिएको छ । कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै सरकारले महामारी फैलन नदिन काठमाडौं उपत्यकालगायत विभिन्न जिल्ला तथा स्थानीय तहमा निषेधाज्ञा जारी गरेसँगै चहलपहल कम हुँदा तीज पनि सुनसान जस्तै भएको छ । विगतका वर्षहरुमा काठमाडौंस्थित पशुपतिनाथ परिसरमा महिला ब्रतालुहरुको ठुलै भीड देखिन्थ्यो । तर उपत्यकामा पनि निषेध आदेश जारी गरेसँगै अहिले पशुपतिनाथ मन्दिर परिसर सुनसान छ ।

त्यसो त लकडाउनकै समयमा पनि पशुपतिनाथ पुग्ने र मन्दिरबाहिर बाटै दर्शन गर्दै हिड्नेहरु पनि देख्न्थिे । सोमबारको व्रतमा पनि कतिपय महिलाहरुले पशुपतिको मुल गेट बाहिर नै पूजा गरे । तर निषेधाज्ञा जारी गरेपछि महिलाहरुले गेट बाहिरसम्म पनि पुग्न नपाउने भएका छन् । यससँगै व्रतालु महिलाहरुले यस वर्ष घरमै बसेर पूजाआराधना गरी तीज मनाउन पशुपति क्षेत्र विकास कोषले अनुरोध गरेको छ । कोषका सदस्य सचीव डा. प्रदीप ढकाल भन्छन्, ‘निषेधाज्ञा लागु भइसकेको छ । भक्तजनहरु पशुपति आउनुहुन्छ भन्ने त कोषले कल्पना पनि गरेको छैन । त्यसकारण यसवर्ष कुनै पनि व्यवस्था गरेको छैन ।’ ‘कोषले लकडाउन हुँदादेखि नै मन्दिर आसपासका पसलहरु बन्द गराएको थियो भने चैत्र ११ गतेबाट मुख्य प्रवेशद्धार बन्द रहेको छ’ ढकालले खबरहबसँग भने, ‘दैनिक हुने नित्यकर्म भइरहेको छ भने अहिले निषेधाज्ञा लागू भएपछि कोही भक्तजन मन्दिर आउनु भएको पनि छैन ।’ ढकालले स्वास्थ्यभन्दा ठूलो केही नभएको र यस कोभिड १९ को महामारीबाट जोगिन पनि यस वर्ष घरमै सुरक्षित भएर तीज मनाउन सुझाव दिएका छन् ।