Comments Add Comment

हेटौंडामा डेंगुको ‘महामारी’, एक हप्तामा ३० जना बिरामी

स्वास्थ्य कार्यालय मकवानपुरमा डेंगुको परीक्षण गराइँदै

हेटौंडा–लामखुट्टेको टोकाइबाट सर्ने रोग डेंगुले हेटौंडामा महामारीको रुप लिएको छ । डेंगुसँगै स्क्रफटाइफस पनि देखिएपछि यसले झनै खतरा निम्त्याएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । 
हेटौंडामा एक हप्ताको अवधिमा ३० जना बिरामीमा डेंगु फेला परेको छ । हेटौंडा अस्पतालबाट रगत परीक्षणका लागि सिफारिस भएका १२ जना र र निजी स्वास्थ्य संस्थामा १८ जना गरी ३० जनामा डेंगु देखिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख शशिकान्त सिंहले विभिन्न समयमा चुरेक्षेत्रमा डेंगु रोग देखिए पनि यसपटक हेटौंडा बजार क्षेत्रमै देखिएको बताए । ‘हेटौंडामा यसअघि केही–केहीमा डेंगुको संक्रमण देखिने गथ्र्यो र त्यसलाई सजिलै नियन्त्रण गर्न सक्थ्यौं यसपटक यसपटक माहमारीकै रुपमा देखा परेको छ । सरुवा रोग भएकाले तत्काल नियन्त्रण गर्न सकिएन भने ठूलो रुप लिन सक्छ ।’ सिंहले भने ।

अघिल्लो वर्ष जिल्लामा पाँच जनामा डेंगु देखिएको थियो । तर, यसवर्ष डेंगुसँगै स्क्रफटाइपस समेत देखिएकाले धेरै नै खतरा रहेको स्वास्थ्य कार्यालय प्रमुख सिंहले बताए । उनले जिल्ला स्वास्थ्य कार्यालयमा रहेका अधिकारहरु अहिले पूर्णरुपमा स्थानीय तहमा गइसकेको अवस्थामा नियन्त्रणका लागि आफूहरुले सचेत रहन आग्रह गर्न र आवश्यक समन्वयको काम मात्र गर्न सक्ने बताए ।

उनले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिका डेंगु संक्रमण क्षेत्रको रुपमा यसअिघ नै पहिचान गरिसकेको बताए । 
डेंगुका बिरामी बढेसँगै परीक्षण गर्ने किट अभाव हुन नदिन काठमाडौंबाट स्वासथ्य कार्यालयले थप किट मगाएको छ । डेंगुले महामारीको रुप लिन थालेपछि माथिल्लो निकायमा पनि जानकारी गराइसकेको स्वास्थ्य प्रमुख सिंहले बताए ।

डेंगुको विशेषज्ञ उपचार नहुने र सुरुवा रोग भएका कारण नियन्त्रणमा समस्या हुने सिंहको भनाइ छ । ‘रोगलाई तत्काल नियन्त्रण गाह्रो छ, सबै सचेत भएको खण्डमा अरुमा सर्न पाउँदैन ।’ सिंहले भने । रोग नियन्त्रणको काम थाल्न स्वास्थ्य कार्यालयले हेटौंडा उपमहानगर–पालिकालाई पत्रचार गरेको छ । हेटौंडा उपमहानगर–पालिका स्वास्थ्य समन्वय प्रमुख सुपेन्द्र कार्कीले नगर क्षेत्रमा डेंगुका विरामी फेला परेपछि यसको नियन्त्रणका लागि काम सुरु गरिएको बताए ।

पहिलो चरणमा सचेतनाका लागि माईकिङ गरिसकेको बताउँदै लामखुट्टेको बासस्थान नष्ट गर्न सचेतना जगाउने, डेंगु देखिएका क्षेत्रमा लामखुट्टे मार्न सर्च एण्ड डिस्ट्रोय अभियान सञ्चालन गरी औषधी छर्ने काम अघि बढाइने तयारी भइरहेको बताए । टोल विकास समितिलाई आफ्नो टोलमा रहेको खाल्डाखुल्डी, जथाभावी फालिएका टायर, पानीका बोतल पुर्न, एसी र गमलाको पानी फेर्न आग्रह गरिएको बस्नेतले सुनाए । उनले हेटौंडामा रहेको क्षेत्रीय किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रसँगको समन्वयमा डेंगुको अवस्थाको अनुसन्धान र नियन्त्रण कार्य अगाडि बढाइएको उपमहानगरपालिकाले जनाएको छ ।

स्वास्थ्य कार्यालयले डेंगुको परीक्षण निःशुल्क गर्ने भए पनि निजी क्लिनिकहरु तीनहजार दुईसय रुपैयाँसम्म शुल्क लिनेको गरेका छन् । हेटौंडा अस्पतालका प्रयोगशाला प्रमुख अनिल यादवका अनुसार अस्पतालका डाक्टरहरुले हेटौंडामा उपचार गर्न जोखिम बहन नगरी थप उपचारका लागि भन्दै चितवन सिफारिस गर्दा समेत बिरामीहरु त्यसतर्फ जान बाध्य भएका छन् । अस्पतालमा हाल दैनिक २० जनाभन्दा बढी बिरामी डेंगो र स्क्रफटाइफसको परीक्षणका लागि आउने गरेका छन् ।

डेंगु के हो कसरी सर्छ ?

यो भाइरसको संक्रमणले गर्दा लाग्ने रोग हो । र त्यो लागेपछि त्यसका जटिल समस्याहरु आउने सम्भावना बढेर जान्छ । डेंगु ज्वरोका तीन अवस्थाहरु हुन्छन्– १. साधारण डेंगु ज्वरो २. डेंगु हेमोरेजिक ज्वरो ३. डेंगु सक सिन्ड्रोम हेमोरेजिक र सक सिन्ड्रोम ज्वरो खतरनाक हुन्छ । सामान्य डेंगु ज्वरो नियन्त्रणमा नआउँदा यो हेमोरेजिक वा सक सिन्ड्रोममा परिवर्तित हुँदा नियन्त्रण गर्न गाह्रो हुन्छ ।

यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगू सक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्युसमेत हुन सक्छ । डेंगु रोग मानिसबाट मानिसमा सोभैm सर्दैन र सबै खालका लामखुट्टेले यसलाई सार्दैन । डेंगु ज्वरो लागेको बिरामीलाई टोक्दा यसको भाइरस लामखुट्टेमा सर्ने गर्छ र उक्त लामखुट्टेले अरुलाई टोक्दा ती भाइरसहरु सर्ने गर्छ । डेंगु ज्वरोको रोगीको रगत अरुलाई चढाउँदा अंग प्रत्यारोपण गर्दा पनि यो रोग सर्ने सम्भावना रहन्छ ।

आजको साझाकुरा दैनिकमा समाचार छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर