काठमाडौं – सरकारसँगको वार्ता सकारात्मक भएपछि निजी लगानीका विद्यालयले आफूले स्थगन गरेका अनलाइन पढाइ आजदेखि पुनः सञ्चालन गरेका छन् । सरकारले सहुलियत ऋण नदिएको तथा शुल्क उठाउन पनि कठिनाइ भएको भन्दै उनहरुले साउन १ गतेबाट कक्षा स्थगित गरेका थिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनः सञ्चालनको कार्यविधि तयारीसहित सरोकार पक्षसँग बुधबार छलफल गरेपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन), नेपाल शिक्षक महासंघ, संस्थागत विद्यालय शिक्षक युनियन र अभिभावक महासंघसँग परामर्श गरेको थियो ।  शिक्षक र अभिभावकले पनि निजी विद्यालयलयलाई अनलाइन कक्षा नरोक्न दबाब दिएका थिए । सरकारले जारी गरेको वैकल्पिक प्रणालीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ को कार्यान्वयनका लागि गत असार १ गतेदेखि सबै विद्यालयमा वैकल्पिक प्रणालीबाट पढाइ भइरहेको छ ।

कोरोना महामारीका कारण रोकिएको विद्यालयको पठनपाठन आगामी भदौ १ देखि भर्ना र परीक्षा सञ्चालन गर्ने सरकारले निर्णय गरिसकेको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पस पनि खुल्न थालेका छन् ।