Comments Add Comment

टेलिकम सिमकार्डको आयु कति हुन्छ ?

काठमाडौं – नेपाल टेलिकमद्वारा प्रदान गरिएका जीएसएम PREPAID तथा POSTPAID सेवाका सिमकार्डमा थप गरिएको रकम अनुसार प्रयोग गर्न सकिने समयावधि समेत थपिदै जान्छ । त्यस्तै विदेशबाट पनि सेवाको ब्यालेन्स थप गर्न सकिन्छ ।
(क) प्रिपेड सिमकार्ड
कम्पनीले उपलब्ध गराउने नयाँ प्रिपेड सिमकार्ड प्राप्त भएपश्चात सेवा शुरु गर्न १४१५ मा डायल गरी वा *1414# मा डायल गरी विकल्पहरु छनौट गर्नुपर्दछ । नयाँ सिमको सेवा प्रयोग गर्न सकिने अवधि १८० दिन हुने भएकाले SIM ACTIVATE  गरेपश्चात् सो अवधिसम्म TOPUP नगरेपनि उक्त सिमकार्ड प्रयोग गर्न सकिन्छ ।

प्रिपेड सिमकार्डमा रु. ५० TOPUP गर्दा ३० दिन, रु. १०० TOPUP गर्दा ६० दिन, रु. ५०० TOPUP गर्दा एक वर्ष र रु. १००० TOPUP गर्दा अधिकतम दुई वर्ष सिम प्रयोग गर्न सकिने अवधि थपिन्छ ।

न्यूनतम रकम (अर्थात् एक पैसा पनि बाँकी) नभएको वा सिम प्रयोग अवधि समाप्त भएको अवस्थामा प्रिपेड सिमकार्ड तत्काल एकतर्फी (आगमन मात्र हुने, बाह्यगमन नहुने) हुन्छ । सेवा एकतर्फी मात्र भएको ३० दिनभित्र उक्त सिमकार्ड टप अप गरिएन भने दुईतर्फी (आगमन र बाह्यगमन) सेवा पूरै बन्द हुन्छ । दुईतर्फी सेवा बन्द भएको ३० दिनभित्र रिचार्ज नभएमा सिम FROZEN अवस्थामा पुग्छ । FROZEN अवस्थामा पुगेपछि उक्त सिममा रहेको सञ्चित रकम र सिम प्रयोग गर्ने अवधि दुवै शून्य हुन्छ ।

कुनै सिमकार्डमा सञ्चित रकम भएतापनि सिम प्रयोग गर्न सकिने अवधि समाप्त भएमा उक्त सिमकार्ड दुईतर्फी सेवा बन्द हुने अवस्थामा पुग्छ । यसरी दुईतर्फी सेवा बन्द भएको सिमकार्ड ३० दिनभित्र टप अप गरिएमा टप अप गरिएको रकममा पुरानो सञ्चित रकम जोडिएर आउँछ । तर सिम प्रयोग गर्न सकिने अवधि भने नयाँ टप अप गरिएको रकम अनुसार मात्र थप हुन्छ । कुनै सिम कार्ड फ्रोजनमा गएपछि कम्पनीले आवश्यकता अनुसार कुनैपनि समयमा RECYCLE गरी नयाँ ग्राहकलाई उपलब्ध गराउन सक्दछ ।

(ख) पोस्टपेड सिमकार्ड

सेवा प्रयोग गरेवापत ग्राहकले कम्पनीलाई बुझाउन बाँकी रकम उक्त मोबाइलको क्रेडिट लिमिटभन्दा बढी भएमा सेवा एकतर्फी (आगमन मात्र हुने, बाह्यगमन नहुने) हुन्छ । यस्तो एकतर्फी सेवा ९० दिनसम्म रहन सक्दछ र सिम एकतर्फी भएको अर्को महिनादेखि बिल उठ्दैन ।

नब्बे दिनसम्म पनि डिउ अमाउन्ट भुक्तानी गरिएन भने दुईतर्फी (आगमन र बाह्यगमन) सेवा बन्द हुन्छ र सिम फ्रोजनमा जान्छ । फ्रोजनमा रहेको ९० दिनभित्रमै सेवा सुचारु गर्न बाँकी महशुल भुक्तानी गरी नजिकको दुरसञ्चार कार्यालयमा गई (VIA PHONE /EMAIL) जानकारी गराउनु पर्छ । उक्त ९० दिनभित्र भुक्तानी नगरेमा सिम स्थायी रुपमा बन्द हुन्छ ।

ग्राहकको सिम टरमिनेट अवस्थामा पुगेपछि ग्राहकले सोही सिम प्राप्त गरी प्रयोग गर्न चाहेमा १८० दिनभित्र रु. ५६० रि कनेक्सन फी भुक्तानी गरी सोही सिम नम्बर प्राप्त गर्न सकिन्छ । सिम टरमिनेट भएको १८० दिन पश्चात कम्पनीले सिम Recycle गर्नसक्ने भएकाले अन्य साधारण सिम सरह नै कुनै पनि ग्राहकलाई नियमानुसारको रकममा उक्त सिम बिक्री/वितरण गर्न सक्दछ ।

(ग) विदेशबाट टपअप गरी सेवा प्रयोग गर्न सकिने अवधि थप गर्ने

विदेश जाँदा सँगै लगेको Prepaid / Postpaid SIM Online Banking, भुक्तानी सेवा प्रदायक आदि मार्फत विदेशबाटै Top Up गरी सिम प्रयोग गर्न सकिने अवधि थप गर्न सकिन्छ । यसरी अवधि थप गर्दै Active अवस्थामा राखिएका सिमकार्ड स्वदेश आउनासाथ सहज रुपमा प्रयोगमा ल्याउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर