हालसालै प्रदर्शन भइसकेको ‘सयकडा दश’ लगायतका सिनेमाकी निर्मात्री रज्जु प्रधान माथि बैदेशिक रोजगार कसुर सम्बन्धि मुद्दा लागेको छ। हाल ललितपुर, सातदोबाटो बस्ने रज्जु प्रधान भन्ने राजुमैँया प्रधानबिरुद्ध वैदेशिक रोजगार विभागमा २०७५ र ११ र ०९ मुद्धा दायर भएको हो।
प्रधानले काठमाण्डौको घट्टेकुलोमा बस्ने शोभा सिवाकोटीलाई वि सं २०६८ सालमा अमेरिका अथवा यूरोप लगिदिने भन्दै १५ लाख रुपैयाँ लिएको उल्लेख गरिएको छ। आफ्नो पैसा लिएको र पछि वैदेशिक रोजगारमा पनि नपठाएको भन्दै पिडितले उजुरी दिएको हो।
प्रधानले पैसा पनि फिर्ता नगरेको भन्दै पीडित शोभा सिवाकोटीले वैदेशिक रोजगार विभागमा मुद्धा दायर गरेकी छन्। आफ्नो पैसा फिर्ता माग्दा बरु मुद्दा लडेर १० वर्ष पछि दिन्छु भन्ने गरेको पिडित पक्षको गुनासो रहेको छ। पिडित शोभा शिवाकोटी कलाकार कृष्ण शिवाकोटीकी श्रीमती हुन्।
यसबारेमा बोल्दै पिडित शोभाका श्रीमान् तथा कलाकार कृष्ण शिवाकोटी भन्छन्, ‘रज्जु पहिले मैतीदेवी बस्ने भएता पनि हाल सुटुक्क भागेर सातदोबाटो तिर पुगेका छन् भन्ने सुनेको छु। धेरै पटक सम्पर्क गर्न खोज्दा समेत सम्पर्कमा नआउने बरु मुद्दा लडेर १० , १२ वर्षमा दिन परे दिने भन्ने खालका कुरा गर्ने गरेका छन्।’ ‘अमेरिकामा आफैले गर्ने कार्यक्रम छ तपाईलाई घुमाउन लैजान्छु’ भनेर १५ लाख रुपैयाँ लगेको सिवाकोटीको भनाई रहेको छ।
आफ्नो पैसा फिर्ता नगर्ने मनसाय देखाएपछि गत चैत्रमा नै मुद्दा दायर गरेका थिए। तर सो मुद्दाबारे बुझ्न पनि अर्कै मानिसहरु पठाएर टार्दै आएको कृष्ण सिवाकोटीको भनाई रहेको छ।
वैदेशिक रोजगार विभागले महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई २०७५ र११र०९ मा चं नं १५९०र०७५र७६ पत्र काटी कसुरदार पक्राउ गरी उपस्थित गराइदिने भन्दै पत्र लेखेको थियो। अहिले उनी वैदेशिक रोजगार विभागमा १५ लाख धरौटी राखी रिहा भएर तारेख धाउँदै छिन्।
यता रज्जु प्रधानले भने केही दिन मै पत्रकार सम्मेलन गरेर आधिकारीक भनाई सार्वजनिक गरिने बताएका छन्। हामीसंग कुरा गर्दै रज्जुले भनिन्, ‘यो कुरा मैले पनि आज भर्खरै थाहा पाएँ। खास कुरा के हो भनेर म छिट्टै पत्रकार सम्मेलन मार्फत जनाउनेछु।’