हेटौंडा – झरना साहित्यिक परिवारले आफ्नो नियमित साहित्य श्रृङ्खला अन्तर्गत शनिबार अन्तरप्रदेश कवि गोष्ठी कार्यक्रम गरेको छ । झरनाको २५४ औँ साहित्य श्रृङ्खलाको रुपमा शनिबार भर्चुअल रुपमा अन्तर प्रदेश कवि गोष्ठी गरिएको अध्यक्ष दीपक गौतमले जानकारी दिए ।

प्रदेश १ बाट रमेश शुभेच्छु, प्रदेश २ बाट सञ्जय शाह‘मित्र’, बागमति प्रदेशबाट रचना मोक्तान‘यात्री’, गण्डकी प्रदेशबाट मिलन समिर, प्रदेश ५ बाट सरस्वती कुसुम्या तथा सुदुरपश्चिम प्रदेशबाट मिन थापा सहभागी रहेका थिए । कार्यक्रममा थारु, बज्जिका तथा तामाङ भाषाका कविता पनि बाचन गरिएका थिए । झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतमको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता गर्दै सर्जक सञ्जाल मकवानपुरका संयोजक तथा साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिलले यस्ता कार्यक्रमले नेपाली साहित्यमा अझै टेवा पुग्ने बताए ।

उनले शनिबार वाचन भएको कविताहरको समीक्षात्मक टिप्पणी समेत गरेका थिए । संस्थाका सल्लाहकार रमेशमोहन अधिकारीले कार्यक्रमको आयोजनाप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउनु पर्ने सुझाव दिए । कार्यक्रममा मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेल, आँचल कलापुञ्जका कार्यबाहक अध्यक्ष अनिता न्यौपाने, प्रलेस मकवानपुरका अध्यक्ष शान्ति प्रिय बन्दना, कवि तथा समाजसेबी अर्पण पराजुलीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।