Comments Add Comment

सिमाना – कविता ( अनिल कोइराला “स्वप्नील”

✍️अनिल कोइराला “स्वप्नील”
हेटौंडा, मकवानपुर 

स्वाभिमानको धरहरा
आफ्नै रेखामुनि पिल्सिएर
माग्दैछ गुहार

छिमेकीको हकदाबीले लगाउँदैछ
अङ्शबण्डाको कोलहल
कुटनैतिक चालको पासाले
खुस्किदैछ दशगजाको साडी

मेघले आघास गरिसके
नयाँ युद्धको शंखघोस
निधो लाग्दैछ दोस्रो कुरूक्षेत्र
अझै संसोधनको बैठकमा
यसरी कति लिन्छौ चियाकै चुस्की

न्यायको निति माथि पासाको गट्टी फ्यालेर
नखेल जुवा ए छोरा हो
भन्दै छिन आमा
यसरी म फर्किने छैन भन्छिन धर्ति
नयाँ नक्साकै बरफको सिल्ली राखेर
उम्लिएको रगतमा
कहाँ फर्किन्छ र भु-भाग

“ए मेरो सुुपुत” मलाई लुटे
मलाई बचाऊ, भन्छिन् माटो
भन किन जोखानो हेर्दैछौ,लाटोकसेरोहरु

कपास कोचेर कानमा कति बस्छौ
के तिम्रो कानमा तातो झिरले
रोप्नु पर्ने हो, राष्ट्रियताको गान
कि भुल्यौ राष्ट्रियताका सपथ
कि हरायौ सहअस्तिव
हेर्न आँखाको गन्तव्यबाटै
स्वार्थको बाटोहरूमा

अरे,लाल्चि छेपारोहरू
तिम्रो रंग परिवर्तनलाई रोकिदेऊ
भाषणले,आँखा छोपेको धेरै भो
अब त खोल पट्टि
लगाऊ,वैरीको अठोटमा
जंगे पिल्लरको पूर्णविराम
देखाऊ,इतिहासलाई नवबिहान

जहाँ,
नजरबन्द होस् ,आँखेहरुको शोक
भाँचियोस् धमिराको दाँत
सहिदले पाउन राहत
देशबासीले हेरून, फर्फराउँदो झण्डा
बर्षाले नुहाअोस् माटो
धर्तीले गौरवले फुलाअोस् छाती
आँखाले स्वागत गरोस् सपना
आफ्नो परिधिभित्रको जमिनमा

बढोस् हर्ष र उल्लासको बाली
यसरी कि
समयले दियोस् सीमाका
भाईबहिनालाई नेपाली पहिचान

पूरा गरेर त हेर छोरा हुनुको कर्तव्य
कि आमालाई नै बेचेर गर्दैछौ श्वाङ्ग

जवाफ देऊ, ए  ओठमा ताल्चा मारेर
कलमको भरमा साईन गर्नेहरू

कहिले ऐना  नि हेर, नत्र धेरै ढिला भै सक्छ।

अनिल कोइराला “स्वप्नील”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर