
सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले गाउँमा चीनमा देखिएको कोरोना भाइरसको लक्षणसँग मिल्ने लक्षण देखिएको भन्दै आवश्यक सहयोगका लागि अपिल गरेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा एक अत्यन्त जरुरी पत्र काट्दै सहयोगका लागि अपिल गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले मन्त्राललयलाई लेखेको पत्रका जुगल गाउँपालिका–३ साबिकको गुम्बा गाविसमा वडा नम्बर ८ गुम्बा बस्तीमा सोमबारदेखि नोबल कोरोना भाइरसको लक्षणसँग मेलखाने लक्षण देखिएको उल्लेख गरेका छन्। उनले बस्ती रुघा खोकी र अत्याधिक ज्वरोजस्ता लक्षणका बिरामी देखा परेको उल्लेख गरेका छन्। ती बिरामीको परीक्षण गरी रोग पहिचान गर्न विशेष टोली खटाइ आवश्यक सहयोग गर्ने अनुरोध गरेका छन्।
यता, गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठका अनुसार माघ २३ गतेबाट यस्तो लक्षण देखिन सुरु गरेकोमा आजसम्म बिरामी हुनेको संख्या ८४ जना पुगेको छन् । चीनबाट नजिकको दूरीमा भए पनि शंका मात्रै भए पनि आवातजावत नभएको कारणले शंका भरमा त्रास नफैलाउन अध्यक्ष श्रेष्ठले आग्रह गरेका छन् । कोरोनाको लक्षण मात्र भएको र शंका गर्ने आधार नरहेको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईंले बताए। जुगल गाउँपालिकाको गुम्बामा स्वास्थ्यकर्मी, औषधि र माक्स खरीद गरी पठाइसकेको बताएको छ।







