दोस्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम आज र भोली दुई दिन सञ्चालन हुदैछ । कोरोना भाइरसको कारणले रोकिएको भिटामिन आज र भोलि देशभर सञ्चालन हुने राष्ट्रिय भिटामिन कार्यक्रममा ८ देखि १९ महिनाका बालबालिकाहरूलाई भिटामिन ए क्याप्सुल र १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ८ देखि २० महिनाका बालबालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व बालभिटा वितरण गरिने परिवार महाशाखा अन्तर्गत पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिनुभयो ।

वर्तमान अवस्थामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउन आवश्यक छ त्यसैले यस भिटामिन ए कार्यक्रममा एक जना बालबालिका पनि छुट्न नहुने पराजुलीले बताउनुभयो । ५ वर्ष मुनिका २७ लाख बालबालिकालाई भिटामिन ए खुवाइने लक्ष्य रहेको पोषण महाशाखाले जनाएको छ । बालबालिकाहरुमा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्न नेपालमा राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन हुदै आएको छ । दोस्रो चरणको भिटामिन ए कार्यक्रम बैशाख ६ र ७ गते रहेकोमा कोरोना नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण स्थगित भएको थियो ।