मुरी फलाउने सपना

निकै पहिले
देखिरहन्थे
कृषिजीवीहरू
मानो रोपेर
मुरी फलाउने सपना
गह्राभरि
बाउसे ,रोपार
हरिया धानका मुठाहरू
आलीको छेउमा
दहीचिउरा र अचार
देखिदैनन् अचेल यस्ता
बास्नादार विपनाहरू
बाक्लो दाल खान
एकै परिवारका
आधादर्जन बाउसेहरू
शहर पसेपछि
थाकेको बुढो हड्डी
घरभित्रै बसेपछि
सुख्खा बनेर
लडेकाछन्
ती सुन्दर गह्राहरू
कहिलेसम्म शहर र प्रदेश पस्नेछन्
बाउसेहरू
कहिलेसम्म निरास बनेर
दैलो कुरेर बस्नेछन्
बिहानदेखि साँझसम्म
खटेर काम गर्ने
रोपारहरू
भनिदिनुस् कसैले मलाई
कहिले हाँस्नेछन्
ती बाँझो बनेका गह्राहरू
कहिले नाच्नेछन्
ती कुँजिएका खुट्टाहरू
अनि
कहिले पूरा हुनेछन्
मुरी फलाउने सपनाहरू

…………………………
सरस पाण्डे