नेपाली नायिकाहरूको चरित्र हत्या गर्ने मनसायले नक्कली पोर्न भिडियो बनाउँदै सार्वजनिक गर्ने क्रम बढे पछि चलचित्र कलाकार संघले प्रहरीमा उजुरी दिएको छ। आज महानगरिय अपराध महाशाखा, टेकुमा पुगेर चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का सहितको टोलीले प्रहरीलाई उजुरी बुझाएको हो।

पछिल्लो दुई दिनमा दुई जना नायिकाहरूको नक्कली पोर्न भिडियो बनाएर सार्वजनिक गरिएको छ। यस्तै, दर्जन बढी नायिकाहरूको भिडियो सार्वजनिक गर्ने धम्की समेत दिइएको छ।
उनीहरु विरुद्ध कारवाही अगाडि बढाउने प्रतिबद्धता प्रशासनले दिएको भन्दै नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष एवम् प्रवक्ता मोहन निरौलाले यस्ता नक्कली भिडियो तथा फोटोलाई बेवास्ता गर्न समेत आग्रह गरे।

नेपाली नायिकाहरुको चरित्र हत्या गर्ने उदेश्यले बनाइएको नक्कली अश्लिल भिडियो नेपालबाट हेर्न नमिल्ने बनाउने कार्यको पनि तयारी भइरहेको प्रवक्ता निरौलाले बताए। देश भित्रैबाट यस्ता दण्डनीय कार्य भएको भए चाँडै अपराधी पत्ता लगाएर कारवाही गरिने र विदेश बाट भए आवश्यक समन्वय गरेर कानुनी कारवाही गर्न प्रशासनले प्रतिबद्धता देखाएको उनको भनाई रहेको छ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष खड्काले बुझाएको उजुरी पत्रमा भनिएको छ–‘विगत केही दिनदेखि प्रविधिको चरम दुरुपयोग गर्दै नेपाली चलचित्रसँग सम्बन्धित कलाकारहरूको नक्कली अश्लील भिडियो बनाएर विभिन्न माध्यमबाट सार्वजनिक गर्ने क्रम बढेको छ। कलाकारहरूको बारेमा भ्रम सिर्जना गरी चरित्र हत्या गर्ने दुस्प्रयास भएकाले यथाशीघ्र यसको छानबिन गरी दोषीलाई कडा कारबाहीको माग गर्दछौं।’

नेपाल भारत बिच सिमा विवाद भएसंगै केही दिन यता ह्याकर समूह बिच साइबर वारका खबरहरु बाहिरिएका थिए। यसैक्रममा लिपुलेक, लिम्पियाधुरा कालापानी माग्ने नेपालीहरुको बेइज्जत गर्न अश्लिल भिडियो सार्वजनिक गर्ने चेतावनी दिदै आएको थियो।

नेपाली नायिका माथिको यस किसिमको आक्रमण भने सीमा विवादकै क्रममा आएको हो ? जवाफमा प्रवक्ता निरौला भन्छन्, ‘यो अनुसन्धानको कुरा हो। धम्कि र भिडियोमा आएको जानकारी अनुसार आशंका गर्न सकिन्छ। तर अनुसन्धान पछि मात्रै यो कुरा खुल्नेछ।’