काठमाडौँ : सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार नेपालले लिम्पियाधुरालगायत भूभाग समेटेर नेपालले नयाँ नक्सा जारी गरेको छ। 

भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कुटी, गुन्जी, नाभी, लिपुलेकसहितका क्षेत्र नयाँ नक्सामा समेटिएको छ।  मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले तयार पारेको नक्सालाई अनुमोदन गरेको हो।भारतले नेपालको कालापानी क्षेत्र अतिक्रमण गरेर सडक बनाएको तथा सीमा क्षेत्रमा आफ्नो सैनिक राखेपछि नेपालमा त्यसको चर्को विरोध भइरहेको छ। त्यसप्रति नेपाल सरकारले यसप्रति असहमति जनाउँदै आएको थियो।

शुक्रबार जारी सरकारको नीति तथा कार्यक्रममा नेपालले ती भूभाग समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा गरेको थियो।  यसैबीच प्रधानमन्त्रीका सल्लाहकार डा राजन भट्टराईले समेत आफ्नाे फेसबुक पेजमा नेपालकाे नयाँ नक्सा राखेर प्रधानमन्त्री र सरकारलाई धन्यवाद दिएका छन । भट्टराईले फेसबुकमा लेखेका छन्- ‘आजको मन्त्रिपरिषद बैठक पछिको नेपालको नक्सा यस्तो हुने भयो । धन्यबाद PM ज्यू तथा मन्त्रिपरिषद्का सदस्यज्यूहरु।’ यद्यपि जारी गरिएकाे नयाँ नक्सा भने राजपत्रमा प्रकाशन भएकाे छैन । सम्भवत छिटै नक्सालाई आधिकारिकता दिइने बताइएकाे छ।