डोटी – डोटीको जोरायल गाउँपालिका ४ देउथलामा एक महिलाको गोली हानेर हत्या गरिएको छ । आइतबार बेलुकी करिब ६ बजेतिर नङनी टोलकी २० वर्षीया अनिता वनलाई भरुवा बन्दुकले गोली हानेर हत्या गरिएको प्रहरीले जनाएको छ ।

अनिताका २२ वर्षीय श्रीमान् खडक वनले गोली हानी हत्या गरेको आशङ्का गरिएको छ । मृतक अनिता र उनका श्रीमान् मात्रै घरमा भएको बेला घटना भएको र उनका श्रीमानले आफूले गोली नहानेको जिकिर गर्दै आएको इलाका प्रहरी कार्यालय जोरायलका इन्चार्ज सई महेन्द्र थापाले बताउनुभो ।

मृतक अनिताको छातीको बिच भागमा गोली लागेको प्रहरीले जनाएको छ । घरको माथिल्लो तलामा रहेका दुई कोठामध्ये भित्र पट्टिको कोठामा घटना भएको र सोही कोठाको कुनामा भरुवा बन्दुक ठड्याएर राखिएको अवस्थामा फेला परेको सई थापाले बताउनुभयो ।

प्रहरीले खडक वनलाई नियन्त्रणमा लिइ घटनाको विस्तृत अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।