चीनमा संक्रमण भइरहेको कोरोना भाइरस दक्षिण कोरियामा बढ्दै गएपछि सरकारले दक्षिण कोरियामा कामदार पठाउन रोक लगाएको छ । श्रम विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले कोरियामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गत हप्तादेखि कोरिया जाने कामदारहरुको उडान रोकेको हो । गत हप्ता करिब २ दर्जन कामदार तालिका अनुसार उड्न पाएनन् ।

आगामी फागुन १८ गतेलाई ४० जना कामदार पठाउने गरी कार्यसूची बनाए पनि अवस्था सहज नहुने देखिएको शाखाका निर्देशक कृष्ण खनालले जानकारी दिए । उनले कोरियास्थित दूतावाससँग सल्लाह गरेरै उडान रोकिएको बताए । सन् २०२० मा करिब साढे ७ हजार नेपाली कोरिया जाँदैछन् । कोरियाका अधिकांश मुख्य शहरमा नेपाली कामदार र विद्यार्थीहरु छन् । कोरियाको सियोलस्थित नेपाली राजदूतावासका अनुसार कोरोनाबाट सबैभन्दा बढी थेगु सहर प्रभावित छ । यो शहरमा करिब १ हजार नेपाली कार्यरत रहेको अनुमान गरिएको दूतावासका श्रम कन्सुलर डिल्लिराम बास्तोलाले जानकारी दिए । संक्रमण फैलिन सुरु गरेपछि सरकारले उच्च सतर्कता आपनाएको छ ।