Breaking
7 Dec 2024, Sat

नेकपा केन्द्रीय कमिटी बैठक आजदेखि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दोस्रो केन्द्रीय कमिटी बैठकको तयारी पूरा भएको छ । आज राष्ट्रिय सभागृहमा हुने बैठककको तयारी पूरा भएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । पार्टी एकता भएको डेढ वर्षपछि बैठक हुन लागेको हो। नेकपाको गत मंसिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले एकीकरणको काम पूरा गराएसँगै केन्द्रीय कमिटीको बैठक राख्ने निर्णय गरेको थियो।

पार्टीको अन्तरिम विधान–२०७५ मा केन्द्रीय कमिटीको बैठक छ महिनामा एक पटक बस्ने व्यवस्था भए पनि डेढवर्षमा पहिलो पटक बस्न लागेको हो। विधानमा २५ प्रतिशत सदस्यले लिखित माग गरेका खण्डमा केन्द्रीय कमिटीको बैठक एक महिनाभित्र बस्नुपर्ने व्यवस्था गरिएको छ। बैठकको तयारीका लागि अहिले नेकपाको सचिवालय बैठक चलिरहेको छ। प्रचार विभाग उपप्रमुख थापाका अनुसार आजदेखि सञ्चालन हुने बैठकको एजेण्डा तय गर्नका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक चलिरहेको छ । केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

यसैगरी विधान संशोधन, राष्ट्रिय अभियान सञ्चालन योजना र समसामयिक प्रस्ताव रहेका छन्। यसअघि पुस २३ मा बस्ने भनिएको बैठक राष्ट्रियसभाको निर्वाचन कारण सारिएको थियो। विसं २०७५ जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा ९माओवादी केन्द्र बीचको एकतापछिको यो दोस्रो केन्द्रीय कमिटीको बैठक हो। पहिलो बैठकमा केन्द्रीय सदस्यलाई शपथ खुवाइएको थियो। त्यसयता बैठक हुनसकेको छैन। बैठकआजदेखि यही माघ २० गतेसम्म चल्ने छ। बैठकमा केन्द्रीय सदस्यलाई परिचयपत्रसमेत वितरण गरिने नेकपा केन्द्रीय कार्यालय सचिव ईश्वर रिजालले जानकारी दिए।

Ad
Ad