नेपाली सिनेमा ‘कोपिला’को शुक्रबार हेटौंडामा च्यारिटी शो गरिएको छ। सुदुरपश्चिम प्रदेशको कन्चनपुरमा बलात्कारपछि हत्या भएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामा आधारित सिनेमा कोपिलाको च्यारिटी शो गरिएको हो। पन्तको बलात्कारपछि भएको हत्याको विषयवस्तु समावेश गरी निर्माण भएको सिनेमाका च्यारिटी शो मा पन्तकी आमा दुर्गादेवी पन्त सहित सिनेमाका कलाकार टोलीको सहभागिता रहेको थियो।

सिनेमा कोपिलाको कलाकार गणेश गिरी, सरिता गिरी, संजीवनी खरेल,प्रकृती खरेल,जुनिफर पौडेल,श्रेया आचार्य सहित अन्य कलाकारको समेत बाक्लो उपस्थिती रहेको थियो। मकवानपुर जागरण अभियानले आयोजना गरेको च्यारेटी शो मा स्वर्गीय निर्मला पन्तको आमा दुर्गादेवी पन्तलाई आभार पत्र सहित नगद ५० हजार रुपैयाँ नगद प्रदान गरिएको थियोे। पन्तलाई सिनेमाका निर्देशक शिवम् अधिकारी, निर्माता तथा सञ्चारकर्मी मणिराज गौतम,गणेश गिरी,सुबासराज काफले जागरण अभियानका अध्यक्ष कृष्णराज कोईरालाले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका हुन्।

सिनेमामा निर्मलाको भूमिकामा संजिवनी खरेलले अभिनय गरेकी छिन्। उनले पहिलो पटक अभिनय गरेपनि उनको अभिनयलाई दर्शकहरुले रुचाएका छन्। सिनेमामा आमाको भुमिकामा अभिनय गर्ने कलाकार सरिता गिरिको अभिनयलाई विशेष गरी धेरैले तारीफ गरेकाछन्। कार्यक्रममा पत्रकार महासंघ कन्चनपुरका अध्यक्ष बिष्णु अबस्थीले स्व निर्मला पन्तको कथालाई उठान गरेर सिनेमा बनाएकोमा आभार ब्यक्त गरे।

सिनेमा हेरेपछि प्रतिक्रिया दिदै स्व पन्तकी आमा दुर्गा देबीले सिनेमाबाट समाजमा उच्च शिक्षा मिल्ने भन्दै आफनो छोरी जस्तो अरु छोरीहरुले बलत्कृत हुनु नपरोस भन्दै सिनेमाबाट महिला हिंसा कम हुने अपेक्षा राखिन्।

कार्यक्रममा अभिनेता तथा निर्माता रमित ढुगाना,कृषा चौलागाई,पत्रकार निर्देशक डब्बु क्षेत्री,निर्देशक गोबिन्द गौतम लगाएतका संचारकर्मी तथा महिलाअधिकारकर्मीहरुको सहभागीता रहेको थियो ।