ग्लोबल आइएमइ र जनता बैंक बीच मर्जरमा जाने लिखित सहमति भएको छ। दुबै बैंकका अध्यक्षले मर्जरमा जाने विषयमा हस्ताक्षर गरेका हुन्। ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंकका अध्यक्ष केशब बहादुर रायमाझीले सहमति पत्रमा हस्ताक्षर गरे।

प्रारम्भिक सहमतिले संयुक्त मर्जर कमिटी पनि बनाएको छ। कमिटीको संयोजकमा ग्लोबल आइएमइ बैंकका निर्देशक छन् भने सहसंयोजकमा जनता बैंकका निर्देशक छन्।

संयुक्त कमिटीले मर्जरको बाँकी काम टुङग्याउने छ। कमिटीले दुबै बैंकको मूल्यङकन गरेर निर्णयमा पुग्ने जिम्मेवारी सयुक्त मर्जर कमिटीलाई दिएको छ। जतिसक्दो चाडै मर्जरको काम सक्नेगरी काम अघि बढ्ने जनता बैंकका सिइओ पर्शुराम क्षेत्रीले बताए।

डिडिए मूल्याङ्कन, राष्ट्र बैंकबाट आउने आसय पत्र (एलओआइ) लगायत कामका लागि मर्ज प्रक्रिया टुङ्याउन केही महिना लाग्ने बताए। क्षेत्रीले भने, ‘चार महिना भित्रै सबै प्रकृया सक्ने गरी तयारी भएको छ।’

राष्ट्र बैंकले बैंकहरुलाई मर्जमा जानेगरी पार्टनर खोज्न भनेपछि पहिलो पटक यी दुई बैंकबीच औपचारिक सहमति भएको हो।

स्रोतका अनुसार ग्लोबल आइएमई बैंकको १ सय कित्ता सेयर बराबर जनताको ८५ हुनेगरी मोटामोटी सहमति भएको छ। यद्यपी डिडिएपछि मात्रै स्वाप रेसियो तय हुनेछ।

हाल जनता बैंकको चुक्ता पुँजी ८ अर्ब तथा ग्लोबल आइएमईको १० अर्ब ३१ करोड छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म ग्लोबल आइएमईले १ अर्ब ८७ करोड खुद नाफा कमाएको छ भने जनताले १ अर्ब २ करोड कमाएको छ। जनताको प्रतिसेयर आम्दानी १७ रुपैयाँ तथा ग्लोबल आइएमईको २५ रुपैयाँ २५ पैसा छ।

दोस्रो सेयर बजारमा बिहीबार बजार बन्द हुँदा जनताको सेयर मूल्य प्रतिकित्ता २१४ रुपैयाँ तथा ग्लोबल आइएमईको २९५ रुपैयाँ छ।