हेटौंडा, मंसिर १० – हेटौंडा जेसीजको जेसीज सप्ताह कार्यक्रम अन्तरगत मंगलबार विद्यालय स्तरीय चित्रकला प्रतियोगिता भएको छ । नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्ष मनाउने घोषणा गरेसँगै पर्यटन वर्षलाई लक्षित गरेर सोसँग सम्बन्धित चित्रकला प्रतियोगिताको आयोजना भएको
हो ।
प्रतियोगितामा १० वटा विद्यालयका १८ जना विद्यार्थीको सहभागिता रहेको थियो । चित्रकला प्रतियोगितामा तुलसी मेहर मेमोरियल स्कुलकी श्वेता श्रेष्ठ प्रथम भईन् । प्रथम भएसँगै श्रेष्ठले नगद ५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेकी छिन् । त्यसैगरी नवोदय शिशु सदनकी सहिष्ता गुरुङ दोस्रो र जनजागृति माध्यामिक विद्यालयका सञ्जिव थिङ तेश्रो भए । दोस्रो र तेस्रो भएका गुरुङ र थिङले नगद ३ हजार र २ हजार रुपैयाँ प्राप्त गरे ।

हेटौंडा जेसीजका अध्यक्ष सन्देश डिसीको अध्यक्षतामा भएको कार्यक्रममा कलाकार जीवन कुमार केसीको प्रमुख आतिथ्यता रहेको थियो । चित्रकला प्रतियोगिताको निर्णायकको रुपमा ऋषि केवी र विश्वराज सिग्देल रहेका थिए । कार्यक्रममा हेटौंडा जेसीजका पूर्व अध्यक्ष अञ्जनी पराजुली, कार्यकारीणि उपाध्यक्ष दिपेश जोशी लगायतकाको उपस्थिति रहेको थियो । कार्यक्रम हेटौंडा जेसीजका सदस्य डेनिल न्यौपानेको संयोजनमा भएको हो ।