This image has an empty alt attribute; its file name is FB_IMG_1573919663815.jpg

चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको कामले तीव्रता पाएको छ । क्रिकेट मैदान सम्याउने र नाली निर्माणको काम तीव्रगतिमा अगाडि बढिरहेको छ ।

रङ्गशालाको निर्माण समयमै सम्पन्न गर्नका लागि काम युद्धस्तरमा अगाडि बढिरहेको धुर्मुससुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुसले बताए। रङ्गशालाको निर्माणका लागि आफू दिनरात खटिएको उनले बताए । बिहान ६ बजेदेखि राति १० बजेसम्म रङ्गशाला निर्माणको काममा जुटेको धुर्मुसको भनाइ छ ।नवलपुरको गैँडाकोटमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै धुर्मुसले क्रिकेट मैदान सम्याउने काम अगाडि बढिरहेको जानकारी दिए । ‘अहिले राति अबेरसम्म पनि रङ्गशाला निर्माणको काममा जुटिरहेका छौँ”, उनले भने ।

मैदान सम्याउने र नालीको काम पूरा भएपछि पक्की निर्माणको काम अगाडि बढाउने उनले बताए । हाल कम्तीमा पनि ८० कामदार खटिएर नाली निर्माणका लागि डिपिसीको काम भइरहेको कट्टेलले बताए । क्रिकेट मैदानका लागि जमीनको सतहबाट दुई फिट उचाइमा माटो उठाउनुपर्ने भएकाले माटोलाई रोलरले पेल्दै सम्याउँदै अगाडि बढिरहेको कट्टेलको भनाइ छ ।

क्रिकेट मैदानका लागि मुख्य मैदान निर्माणसँगै क्रिकेट अभ्यासका लागिसमेत मैदान तयार गरिरहेका छौँ’, उनले भने, ‘रङ्गशाला हेर्नका लागि आउने र खेल्नका लागि आउनेका लागि क्रिकेट मैदानको ‘स्याम्पल’ बनाएका छौँ, यसरी हामीले रङ्गशाला निर्माणको काम अगाडि बढाएका छौँ ।’ खेल्नका लागि योग्य मैदान चाँडै नै निर्माण हुने जानकारी दिँदै धुर्मुसले स्रोत व्यवस्थापन भएको अवस्थामा २२ महिनाभित्रमा सम्पूर्ण संरचनासहित रङ्गशाला निर्माण पूरा गर्न सकिने बताए।

क्रिकेट रङ्गशाला समयमै निर्माण सम्पन्न गर्नका लागि सबै नेपाली अभियान्ता बनेर तन, मन र धनले सहयोग गर्नुपर्ने उनको भनाइ छ । भरतपुरमा निर्माण भइरहेको अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि सहयोग गर्न गैँडाकोट नगरपालिकामा नगरस्तरीय सहयोग समिति बनेको छ । नगर उपप्रमुख विष्णुकुमारी कँडेलको संयोजकत्वमा नगरस्तरीय सहयोग समिति निर्माण गरिएको हो ।