फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गतको नेपाल र कुवेतबीचको खेल आज हुँदैछ । भुटानको चाङ्लीमिथाङ रंगशालामा हुने खेलमा नेपाली टोलीले कुवेतविरुद्ध यसअघिको हार बिर्साउने लक्ष्य बनाएको छ । नेपालको होम गेमका रुपमा रहेको खेल दशरथ रंगशालाको काम समयमा पुरा नहुँदा नेपालले तटस्थ भूमिका रुपमा भुटानलाई छानेको हो ।

नेपाली टोलीका प्रशिक्षक योहान कालिनले कुवेतविरुद्धको खेल महत्वपूर्ण रहेको बताउँदै कुवेतविरुद्ध पुनरागमन गर्ने बताए । ‘यो महत्वपूर्ण खेल हो । हामी राम्रो खेल्दै खेलमा फर्किने लक्ष्य छ,’ प्रशिक्षक कालिनले प्रि म्याच कन्फ्रेन्समा भने,‘म खेलाडीमा फोकस छु । जति यहाँ उपलब्ध छन् । खेलाडी राम्रो खेल्ने पक्षमा छन् ।’ मुख्य प्रशिक्षक कालिनले नेपाल अन्य टिमसँगको खेल जस्तै राम्रो खेल्ने बताएका छन् । ‘हामी अन्य टिमसँगको खेल जस्तै राम्रो खेल्ने लक्ष्यमा छौं । कुवेत छनोटका खेलहरुमा राम्रो प्रदर्शन गरिरहेको छ । तर, हामी आत्मविश्वासी छौं ।’