Comments Add Comment

डोजरले महिला हुत्याउने चालकलाई ज्यान मार्ने उद्योगमा मुद्दा

बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ मा डोजरले महिला हुत्याउने चालक विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ। स्थानीय गौरी जोशीलाई डोजरले हुत्याएको भिडियो सार्वजनिक भएपछि प्रहरीले नियन्त्रणमा लिएका चालक किशोर बोहराविरुद्ध मंगलबार नै ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए।

 जिल्ला अदालत बैतडीबाट १० दिनको म्याद थपेर बोहरामाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बताए। उनले भने ‘गौरी जोशीको अहिले कोहलपुरमा उपचार भइरहेको छ भन्ने खबर आएको छ। चालकले डोजरले हुत्याएको कुरा बाहिर आएपछि हामीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान अगाडी बढाएका छौं।’ आरोप पुष्टि भए कानुन अनुसार कारवाही हुने प्रवक्ता उनले स्पष्ट पारे। दशरथचन्द नगरपालिका वडा नं ९ को सुण्न्नाखानदेखि पार्ससम्म जोड्ने सडक निर्माणका विषयमा दुई पक्षबीच विवाद हुँदा झडप भएको थियो। 

झडपका बेला सडक रोक्नुपर्छ भन्ने पक्षका गौरी जोशीलाई डोजरले हुत्याएको र अहिले उनको  कोहलपुरमा उपचार भइरहेको छ। ‘म त गरिब मान्छे, डडेल्धुरा होटेलमा काम गरेर बालबच्चको पालनपोषण गरिरहेको थिएँ, सोमबार यस्तो ब्रजपात आइलाग्यो।’ गौरीका श्रीमान जगदीश जोशीले भने–‘हाम्रै जमिनमा डोजर चलाउने हामीलाई नै मार्न खोज्ने कस्तो जमाना आयो ?’। दोषीलाई दण्डित गरी आफू न्याय पाउनु पर्ने जोशीले माग गरे। 

ढुंगा हानाहान हुँदा दुवै पक्षका अन्य सातजना समान्य घाइते भएका थिए। उनीहरुको जिल्ला अस्पतालमा उपचार भएको थियो। पार्ससम्म जोड्ने सडक चिलाउने भन्ने ठाउँमा पुग्दा जमिनवालाहरुले केही दिनभित्रै सबैसँग सहमति गरेर सडक अगाडि बढाउन आग्रह गरेको भएपनि निर्माण पक्षले जबरजस्ती सडक अगाडी बढाउन खोज्दा विवाद उत्पन्न स्थानीय हंशराज जोशीले जानकारी दिए। उनले भने ‘त्यहाँ हामी १५–१६ परिवारको सयुक्त जमिन र कुल केही देवताको गुठीको जमिन पनि छ। सबैसँग सहमति गरेर सडक खनौँला भनेको उनीहरुले जबरजस्ती डोजर चलाए।’

 निर्माण पक्षका दिनेश जोशीले भने आफूहरुले सडक निर्माण गर्ने सहमति गरेको र अर्को पक्षले एक्कासी ढुंगामुढा गर्दा झडप भएको दाबी गरे। उनले भने ‘गाउँमा सडक पुर्‍याउनका लागि झडप भएकै ठाउँबाट लग्नुको विकल्प छैन। आइतबार सडक काट्ने सहमति भएको हो। तर एक्कासी ढुंगामुढा गर्दा अनि झडपको स्थिति आएको हो।’ यो समाचार अन्नपुर्ण पोष्टबाट साभार गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर