काठमाडौं – नेपाली नारीप्रधान फिल्म सतीदेवी आउँदो शनिबार (साउन ३१ गते/अगस्ट १६) अमेरिकाको भर्जिनीयामा विशेष शो हुने भएको छ। महिलाको महान पर्व तीजको अवसरमा आयोजना हुने यो प्रदर्शन नारीको सम्मान र नेपाली कला–संस्कृतिको प्रवर्द्धनका लागि गरिएको हो।

कार्यक्रमका आयोजक तथा लामो समयदेखि अमेरिका बसोबास गर्दै आएका निर्माता एवं समाजसेवी पुष्कर पन्तले सतीदेवी मौलिक र पारिवारिक विषयवस्तुको कारण विशेष शो गर्न लागेको बताए। राष्ट्रिय चलचित्र अवार्ड–०८० मा विशेष चलचित्र पुरस्कारसहित एक दर्जनभन्दा बढी अवार्ड जितिसकेको यस फिल्मलाई लक्ष्मण सुवेदीले लेखन, निर्माण र निर्देशन गरेका हुन्।

फिल्ममा मलिका महत, रमेश बुढाथोकी, सन्दिपबाबु लोहनी, कुलबहादुर अधिकारी, सृजना अधिकारी, बालकलाकार हर्षिका वली र मञ्जिला बानियाँलगायत कलाकारको अभिनय रहेको छ। दिलासा क्रिएसनको प्रस्तुति र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको सतीदेवी भर्जिनियापछि अमेरिकाका अन्य स्टेटहरूमा पनि प्रदर्शन गरिने निर्देशक सुवेदीले जानकारी दिएका छन्।