काठमाडौँ – नेपाली चलचित्र उद्योगमा नयाँ चलचित्र ‘द ब्ल्यू लाइट’ को निर्माण घोषणा गरिएको छ। मंगलबार एक कार्यक्रममार्फत थिम पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले चलचित्र निर्माणको औपचारिक घोषणा गरेको हो।

यस चलचित्रमार्फत बलिराम चौहानले निर्देशनमा डेब्यु गर्न लागेका छन्। चौहान यसअघि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बलिदान’ का लेखक तथा मुख्य सहायक निर्देशक थिए।

‘द ब्ल्यू लाइट’ स्काइफल पिक्चर्सको प्रस्तुति रहनेछ भने रमन ग्रे को–प्रोड्युसरको भूमिकामा रहनेछन्। चलचित्रको छायांकन नरेन्द्र मैनालीले गर्नेछन्। निर्देशक चौहानका अनुसार चलचित्र सन् २०२५ भित्रै प्रदर्शनमा ल्याइने लक्ष्य राखिएको छ।

सार्वजनिक गरिएको थिम पोस्टरमा निलो रङको धिपधिपे वातावरणबीच एक बालिका उभिएकी देखिन्छिन्। कम्मरदेखि माथिसम्म देखिएको बालिकाको पछाडिको भाग, जुङरुङ्ग कपाल र वरपरको निलो बादलजस्तो प्रभावले रहस्यमय र केही हदसम्म मानसिक द्वन्द्व झल्काउने संकेत दिएको छ।

चलचित्रका कलाकारहरुको नाम अझै टुंगो नलागेको निर्माण पक्षले जानकारी गराएको छ। छिट्टै कलाकार चयनबारे जानकारी दिने बताइएको छ।

‘द ब्ल्यू लाइट’ थ्रिलर र सामाजिक सन्देश मिसिएको शैलीमा बन्ने अनुमान गरिए पनि विषयवस्तुबारे विस्तृत खुलासा गरिएको छैन।