
काठमाडौं – अर्बपति उद्यमी एलन मस्कले गुगलको जिमेललाई चुनौती दिन ‘एक्स मेल’ नामक ईमेल सेवा सुरू गर्ने तयारी गरेका छन्। ट्वीटर (हालको एक्स) अधिग्रहणपछि यसलाई एभ्रिथिङ एपका रूपमा विस्तार गर्दै आएका मस्कले नयाँ ईमेल सेवामार्फत ईमेल प्रणालीलाई थप सरल, प्रभावकारी र अन्तर्क्रियात्मक बनाउने दाबी गरेका छन्।
मस्कको ईमेल सेवा परम्परागत ईमेल सेवा भन्दा भिन्न हुने बताइएको छ। एक्स एआईका कर्मचारी रोसले सार्वजनिक गरेका विवरणअनुसार, एक्स मेलले मेसेजिङ एपको इनबक्स शैलीमा आधारित प्रणाली दिनेछ। यो सेवा प्रयोगकर्तामैत्री युनिभर्सल ह्यान्डल सिस्टममा आधारित हुनेछ। जिमेलको जस्तो ‘username@gmail.com’ को सट्टा यहाँ ‘username@x.com’ हुने जानकारी दिइएको छ।
यो सेवा छुट्टै एपको रूपमा आउँछ या एक्स एपमै समाहित हुन्छ भन्ने यकिन भइसकेको छैन। तर, मस्कले ईमेल सेवालाई सिधा र प्रभावकारी बनाउने प्राथमिकता दिइरहेको बताइएको छ।
हाल जिमेलसँग १ अर्ब ८० करोडभन्दा बढी सक्रिय प्रयोगकर्ता छन्, जसले यसलाई ईमेल सेवामा अग्रणी बनाएको छ। मस्कको उद्देश्य परम्परागत ईमेल प्रयोगको अनुभवलाई परिवर्तन गर्दै प्रयोगकर्तालाई नयाँ र सरल विकल्प प्रदान गर्नु हो।
मस्कले यसअघि २०२३ को सुरूवातमा ईमेल सेवाको संकेत गरेका थिए। अहिले भने एक्स मेलको विकास अन्तिम चरणमा रहेको र चाँडै सार्वजनिक गरिने सम्भावना छ।
विशेषज्ञहरूले मस्कको यो कदमलाई महत्वाकांक्षी ठानेका छन्। जिमेलको जस्तो ठूला इकोसिस्टमसँग प्रतिस्पर्धा गर्न मस्कले कस्तो रणनीति अपनाउनेछन् भन्ने विषय अहिले चासोको विषय बनेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




