काठमाडौं । चलचित्र ‘रङ्गेली’का निर्देशक अर्जुन सुवेदीले आफ्नो नयाँ चलचित्र ‘सोल्टिनी’ को निर्माण घोषणा गरेका छन्। निर्देशक सुवेदीले परिचयात्मक भिडियोमार्फत फिल्मको विषयवस्तु र प्रमुख पात्रहरूको जानकारी दिएका छन्। उक्त भिडियोमा चर्चित कथा वाचक साइग्रेस पोखरेलको मार्मिक कथा वाचन समावेश गरिएको छ।

‘सोल्टिनी’ चलचित्रमा मुख्य भूमिका प्रकाश सपुत र परीक्षा लिम्बु निभाउने छन्। प्रकाश सपुतले चलचित्रमा ‘भीमसेन पोखरेल’ को भूमिका निर्वाह गर्नेछन् भने परीक्षा लिम्बु ‘दिलासा राई’को भूमिका निभाउने छन्। यो चलचित्र अपुरो प्रेमको गहिरो कथामा आधारित हुनेछ।

‘सोल्टिनी’ फिल्म प्लानेट थ्री फिल्म्सको प्रस्तुति र नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुँदैछ। चलचित्रको फ्लोर पुस १५ देखि निस्कने जानकारी दिइएको छ। यतिबेला चलचित्रका कलाकार र प्राविधिक टोली वर्कशपमा छन्।

चलचित्रको रिलिज मिति २०८२ असोज ३ गते, संविधान दिवसको दिन तोकिएको छ।