महेश बर्तौला यतिबेला मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर २ बाट एमाले उम्मेद्वारको रुपमा चुनावी प्रचारप्रसारको अभियानमा छन् । अनेरास्ववियुको केन्द्रीय उपाध्यक्षबाट बिदा लिए लगतै उनलाई एमालेले मकवानपुर–२ मा उम्मेद्वार बनाएको छ । अनेरास्ववियु मकवानपुरको २०६० र २०६३ सालमा जिल्ला अध्यक्ष भएका बर्तौला सोहि समय अर्थात ६० र ६५ सालमा जिल्लाकै सबैभन्दा ठुलो ब्याम्पसको रुपमा रहेको मकवानपुर बहुमुखि क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका थिए । मकवानपुरे विद्यार्थी राजनीतिमा लोकप्रिय रहेका बर्तौला स्ववियु काउन्सीलका केन्द्रीय संयोजक हुँदै अनेरास्ववियुको केन्द्रीय उपाध्यक्षसम्म भए ।
२०६२÷०६३ को जनआन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका बर्तौला त्यसयता भएका हरेक परिवर्तको आन्दोलनमा डटेर लाग्ने गरेका विद्यार्थी नेता बने । मकवानपुरको नामटार गाविस ९हाल भीमफेदी गाउँपालिका स्थानीय ३९ वर्षका बर्तौला यो पटक आफ्नै राजनीतिक गुरु रहेका बिरोध खतिवडासँग प्रतिस्पर्धा गर्दैछन् । चार पटक सांसद र पूर्व स्वास्थ्य मन्त्री समेत रहेका खतिवडा यतिबेला गठवन्धनको तर्फबाट बर्तौलासँग चुनावी प्रतिस्पर्धा गरिरहेका छन् । क्षेत्र नंबर २ मा पटक–पटक विजयी हुँदा समेत खतिवडाले आश्वसन मात्र बाँढेको, काम नगरेको भन्दै यो पटक काम नै गर्नै नयाँ फ्रेस उम्मेद्वारलाई मत दिनुपर्ने भन्दै बर्तौला गाँउगाउँमा अभियानमा लागेका छन् । एमालेले अघि सारेको सुखि नेपाली, समृद्ध नेपालको अभियानलाई सार्थक बनाउन मकवानपुर–२ का जनताले आफुलाई सहयोग गर्ने भन्दै बर्तौलाले मकवानपुरको क्षेत्र नंबर २ लाई देशकै नमुना प्रतिनिधिसभाको क्षेत्र बनाउने भिजन सहित आफु निर्वाचनमा होमिएको बताए ।