आज मकवानपुरको दश वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० को लागि नीति तथा कार्यक्रम ल्याउँदैछ । असार १० गते मकवानपुरको सबै स्थानीय तहले सम्बन्धित सभामा आगामी वर्षको नीति तथा कार्यक्रम पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

सोहि अनुसार कृषि,शिक्षा,स्वास्थ्य र पर्यटनलाई समेत प्राथमिकतामा राख्दै १० वटै स्थानीय तहले आज बस्ने नगर तथा गाउँससभामा आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेका हुन् । आज बस्ने नगर तथा गाउँसभामा स्थानीय तहहरुले नीति तथा कार्यक्रम कार्यान्वयनको लागि आवश्यक बजेटको अनुमानित स्र्रोत पनि पेस गर्नेछन् ।

संघीय सरकार र प्रदेश सरकारले बजेट ल्याइसकेपछि स्थानीय सरकारले बजेट ल्याउने ब्यवस्था रहेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका, बागमती गाउँपालिका, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका , मकवानपुरगढी गाउँपालिका र बकैया गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि केही बजेट बढाएर ल्याउँने भएको छ । धेरैजसो स्थानीय तहले भौतिक पूर्वाधारमा बढी जोड दिने बताएका छन् ।