प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा जारी प्रथम खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा ललितपुर र मकवानपुर फाइनल प्रवेश गरेको छ । हेटौंडा –५ स्थित क्याम्पा रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाईनल खेलमा ललितपुर विजयी भई फाईनल प्रवेश गरेको छ ।

धादिङलाई टाइब्रेकरमा ५–३ गोलअन्तरले पराजित गर्दै ललितपुर फाईनल प्रवेश गरेको हो । निर्धारित समयमा २–२ गोलको बराबरीमा टुंगिएपछि खेलको नजिता टाइब्रेकरमार्फत् छिनोफानो गरिएको थियो । त्यस्तै दोस्रो सेमिफाईनल खेलमा मकवानपुर विजयी भएको छ ।

मकवानपुरले दोलखालाई ५–१ गोलको फाराकिलो अन्तरले पराजित गर्दै ललितपुरसंग फाईनल भिड्ने पक्का गरेको हो । मकवानपुरका लागि समिरराज थोकरले व्यक्तिगत दुई गोल गरेका थिए भने ललित चौलागाईं , अमिर श्रेष्ठ र अनिश महर्जनले समान एक–एक गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच अमिर श्रेष्ठ घोषित भए । अब आईतबार दिउँसो ३ बजे मकवानपुर र ललितपुर फाईनल खेल खेल्ने छन् ।