प्रधानमन्त्री शेरबहादुर देउवाले आज बेलुका ४ बजेलाई सर्वदलीय बैठक बोलाएका छन् । बैठकमा सबै दलका शीर्ष नेताहरु र पूर्व प्रधानमन्त्रीहरुलाई बोलाइएको छ । संसदमा प्रमुख प्रतिपक्षी दल नेकपाा एमालेले लगातार अवरोध गरिरहेको र सरकारले एमसीसी सम्झौता संसदमा लैजाने तयारी गरिरहेका बेला प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् । एमसीसीमा सर्वदलीय समर्थन जुटाउने प्रधानमन्त्रीको पहलअनुसार सर्वदलीय बैठक बोलाइएको हो ।

उता एमाले विभाजनमा सभामुख अग्नि सापकोटाको भूमिका रहेको भन्दै एमालेले संसद अवरोध जारी राखेपछि सरकारलाई विधेयकहरु पारित गराउन समस्या भएको छ । त्यसैले प्रधानमन्त्री देउवाले सर्वदलीय बैठकबाटै यी विषयलाई टुंगो लगाउने तयारी गरेका छन् । सर्वदलीय बैठक बोलाउनुअघि प्रधानमन्त्री देउवाले सत्ता साझेदार दलका प्रमुखहरुसँग छलफल गरेका थिए । शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए । सो छलफलमा सर्वदलीय बैठक बोलाउनेबारे कुरा भएको थियो ।