हेटौंडाको निर्माणधिन क्याम्प रंगशालाको खेल मैदानमा जारी सातौं राष्ट्रिय भेट्रान्स कप प्रतियोगिताको उपाधि एविसी भेट्रान्स पोखराले जितेको छ । शनिबार भएकोको फाईनल खेलमा नागस्वती भेट्रान्स हेटौंडालाई २–१ गोल अन्तरले पराजित गर्दै एविसी भेट्रान्स पोखरा विजयी भएको हो । खेलमा एबिसिको तर्फबाट टिमको लागि पहिलो गोल हरि खड्काले गरेको थियो भने दोस्रो गोल नरेन्द्रजंग गुरुङले गरेको थियो । नागस्वती भेट्रान्सको तर्फबाट एकमात्र गोल नरेन लिम्बुले गरेको थियो । उपाधि जितेसँगै एबिसि भेट्रान्स पोखराले एक लाख एघार हजार १ सय ११ रुपैयाँ प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् भने उपविजेता नागस्वती भेट्रान्स हेटौंडाले ट्रफि सँगै ५५ हजार ५ सय ५५ रुपैँया, प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् ।

खेलको उत्कृष्ट गोल किपर एविसीका सुर्य शर्मा, कोच एविसीका सुरज गुरुङ, मिड फिल्डर एविसीका महेन्द्र गुरुङ, सर्वोत्कृष्ट खेलाडी एविसीका विश्वराज श्रेष्ठ भएका छन् । त्यस्तै, उत्कृष्ट फरवार्ड नागस्वतीका निमा लामा, डिफेन्डर नागस्वतीका मिलन राई घोषित हुदैं ट्रफि र जनही पाँच–पाँच हजार नगद सहित पुरस्कृत प्राप्त गरेका छन् । विजेता र उपविजेतालाई हेटौंडा उपमहानगरका प्रमुख हरिबहादुर महत र हेटौंडा भेट्रान्स क्लबका अध्यक्ष दीपक बज्रचार्यले पुरस्कार प्रदान गर्नुभएको थियो । समापन कार्यक्रमका बिच पिप्ले युवा क्लबको खेलमैदान क्याम्पा रंगशालाका अध्यक्ष सुशील घिमिरेलाई सम्मान गरिएको थियो । कार्यक्रममा हेटौंडा वडा नम्बर ५ का अध्यक्ष राजेश बानियाँ, वडा ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाई, जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामा, खेलको कार्यक्रम संयोजक मणिराज गौतम लगायतकाको आतिथ्यता रहेको थियो ।