खेल भर दबाब खेपेको नेपालले यु–१९ महिला साफ फुटबलमा बंगलोदशसँग गोलरहित बराबरी खेल्दै अंक बाढेको छ । शनिबार बीएसएसएस मुस्ताफा कमल मैदानमा भएको आफ्नो पहिलो खेलमा नेपालले बराबरी खेल्दै अंक खोसेको हो । गोलरक्षक अञ्जना राना मगरको कप्तानीमा रहेको नेपाल पुरा समय आफ्नो बक्स वरिपरि नै रह्यो । सुधारिएको खेल प्रदर्शन गरेको बंगलादेशले नेपाललाई खेलमा पूर्ण रूपमा दबाबमा राखे पनि गोल भने गर्न सकेन ।

यस अघि सन् २०१८ मा भुटानमा भएको यु–१८ साफमा नेपाल फाइनल खेलमा बंगलादेशसँग १–० अन्तरले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो । गत सिजन कोरोना महामारीबीच प्रतियोगिता हुन नसकेपछि दक्षिण एसियाली फुटबल महासंघ ९साफ०ले सोही उमेर समूहलाई उपयुक्त हुने गरी यसपटक यु–१९ साफ प्रतियोगिता आयोजना गरेको हो । शनिबार नै भएको प्रतियोगिताको उद्घाटन खेलमा भुटानले श्रीलंकालाई ५–० अन्तरले पराजित गर्‍यो । सिंगल राउण्ड रोबिनको पद्धतिमा हुने प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भुटान, भारत र श्रीलंका गरी ५ टोलीको सहभागिता छ ।