
विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्ध समुह चरणको पहिलो खेलमा नेपाल ७–० गोलले पराजित भएको छ ।
बिहीबार राती भएको खेलमा कुवेतसँग लज्जास्पद हार भएको छ । खेलको सुरुवाती मिनेटदेखि नै आक्रामक रुपमा उत्रिएको कुवेतले १४ मिनेटमा नै २ गोलको अग्रता लिएको थियो । खेलको छैटौं मिनेटमा युसुफ नासेरले गोल गर्दै घरेलु टोली कुवेतलाई अग्रता दिलाएका थिए । त्यसको केहि मिनेटमा नै किरणले लामो दुरीबाट गरेको प्रहार बचाए ।
पहिलो मिनेटदेखि नै दबाबमा परेको नेपालले लगातार कुवेती आक्रमण विफल बनाउन व्यस्त रहयो । नेपालले १४ औं मिनेटमा कर्नरमा दोस्रो गोल खाएको थियो । कर्नरमा आएको बलमा गोलरक्षक किरण अगाडी बढेपछि फेद अल हाजेरीले गरेको प्रहार विक्रम लामाले गोललाइनबाट बचाउने प्रयास गरेपनि रेफ्रीले गोलको निर्णय दिए । खेलको २७ औं मिनेटमा किरणले वन भर्सेस वनमा बचाउ गर्दै अग्रता बढाउन दिएनन् । ४१ औं मिनेटमा सुजल श्रेष्ठको क्रसमा रवी पासवानले फ्लिक गरेको बलमा विशाल राईले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार आकासिएको थियो । नेपालका लागि दोस्रो हाफको सुरुवात पनि खराब नै रहयो । ५१ औं मिनेटमा युसुफ नासेरले अब्दुल्लाह माविको क्रसलाई हेडरमार्फत गोलमा परिणत गर्दै ३–० को अग्रता दिलाए । त्यसको ८ मिनेटपछि नै माविले उत्कृष्ट फिनिस गर्दै चिप सटमा ४ गोलको अग्रता दिलाए । ६८ औं मिनेटमा कप्तान बादर अल मुत्वाले कुवेतलाई ५–० को अग्रता दिलाए । उनले क्लियर गर्न नसकेको फ्रिकिकलाई पेनाल्टी क्षेत्रभित्र वन भर्सेस वनको अवस्थामा गोल गरे । इन्ज्युरी समयमा थप दुई गोल गर्दै कुवेतले ७–० को जित पक्का गर्यो ।
जितसँगै कुवेत समूहको शीर्षस्थानमा उक्लिएको छ । यसअघि समूहको अर्को खेलमा जोर्डनले चाइनिज ताइपेइलाई २(१ ले पराजित गरेको थियो । नेपालले अब अर्को खेलमा मंगलबार चाइनिज ताइपेइसँग खेल्नेछ । अर्को खेलमा सोहि दिन कुवेत र अष्ट्रेलिया भिड्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




