२०२२ मा कतारमा हुने विश्वकप फुटबलको पहिलो छनोट खेलमा आज नेपाल र कुवेट खेल्ने भएको छ । छनोट खेल कुवेतमै हुने भएकोले त्यहाँको वातावरणसँग घुलमिल हुन चार दिन अघि नै नेपाली राष्ट्रिय टोली कुवेत पुगिसकेका छन् ।
कुवेतमा दिउँसो अत्याधिक गर्मी हुने भएका कारण सोमबार र मंगलबार नेपालले राति अभ्यास गरेको थियो। बुधबार अन्तिम अभ्यासपछि नेपाल जाबेर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा कुवेतसँग खेल्दैछ। कुवेतविरुद्ध कप्तानी गर्ने किरणले नेपालबाट ५९ खेल खेलेका छन् । नियमित कप्तान विराज महर्जन अनफिट देखिएपछि यसपाली चौथोपटक नेपाली टोलीको नेतृत्व गर्ने अवसर गोलरक्षक किरण चेञ्जोङले पाएका छन्। किरण २००८ मेदेखि नेपाली टोलीमा रहेका पहिलो रोजाईको गोलकिपर रहँदै आएका छन्। किरण नेतृत्वको टोलीका लागि बलियो कुवेतविरुद्ध अग्निपरिक्षा हुनेछ।